प्रधानमन्त्रीले भने- मेलम्चीको पानी दिगो रुपमा वितरण गर्न सरकारको उच्च प्राथमिकता छ

उपत्यकावासीलाई वर्षभर मेलम्चीको पानी उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
माघ १, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले भने- मेलम्चीको पानी दिगो रुपमा वितरण गर्न सरकारको उच्च प्राथमिकता छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकावासीलाई मेलम्चीको खानेपानी वर्षभर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सिंहदरबार परिसरमा सोमबार मेलम्चीको खानेपानी पुनः वितरण कार्यक्रममा उनले मेलम्ची आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि १२ महिनै सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको जिकिर पनि गरे ।

उनले मेलम्चीको पानी पथान्तरण कार्यलाई दिगो बनाउने कार्य छिटै सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाइ अघि बढाइने प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालले सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिने दाबी गरे ।

‘खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिको प्रयासमा यस वर्ष खानेपानी पथान्तरण कार्य सम्पन्न भई पुनः वितरण कार्यमा हामी सरिक भएका छौं । आयोजनालाई दिगो रुपमा सञ्चालन गर्ने विषय नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ । दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाइ आयोजनाको पुनर्निर्माण कार्य कार्यान्वयन गरिनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि १२ महिनै सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित अधिकारीलाई निर्देशन गर्दछु । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध छ । हाल मेलम्ची खानेपानी आयोजनाको हेर्डवर्कको निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाइ अघि बढाइनेछ ।’

उपत्यकामा आइपुग्यो मेलम्चीको पानी

उनले केही वर्षभित्र अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबीसैघण्टा उपभोक्ता सदस्यहरुको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिए । ‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ,’ उनले भने, ‘केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबीसै घण्टा उपभोक्ता सदस्यहरुको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशित गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपत्यकामा दिगो रुपमा सञ्चालन गर्ने विषय सरकारले उच्च प्राथमिकतामा राखेको जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.