उपत्यकामा आइपुग्यो मेलम्चीको पानी

माघ १, २०८० |कान्तिपुर टीभी संवाददाता
उपत्यकामा आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकामा पुनः वितरण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान सिंहदरबारमा खानेपानी पुन: वितरणको उद्घाटन गरेका हुन् ।

मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण ७ महिनाअघि पानी ल्याउन बन्द गरिएको थियो । खानेपानी मन्त्रालयका अनुसार आज मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण गरिएको छ । त्यसपछि क्रमिक रुपमा खुमलटार, बालाजुलगायत क्षेत्रका खानेपानी भण्डारण केन्द्रमा भरेर पानी वितरण गरिनेछ ।

वर्षौंदेखि प्रतीक्षा बनेको मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते काठमाडौंका बासिन्दाको धारामा झरेको थियो । त्यसयता कहिले निर्माणको काम नसकिएको, पाइप फुटेको भन्दै वितरण प्रभावित भएको थियो । २०७८ मा मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान नै थुनिएपछि पानी वितरण पुन: बन्द भएको थियो ।

आजसहित पाँचपटक उद्घाटन भइसकेको पानी वितरण भने अझै नियमित छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.