सेनाको हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

पुस २५, २०८० |प्रेम रौले
सेनाको हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ६, कोर्धकी एक गर्भवतीको जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

सोही नगरपालिकाकी ३० वर्षीया सीमा बडुवालको सुत्केरी हुने समय नाघेको र पाठेघरमा बच्चा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

स्थानीय प्रशासनमार्फत गृह मन्त्रालयलाई पत्राचारपछि सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले जनाए ।

दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जटिल गर्भवती तथा सुत्केरीलाई हेलिकोप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरिन्छ ।

४ महिनाअघि हिमाली गाउँपालिका १, बिच्छ्याँकी २३ वर्षीया कल्पना रोकायालाई पनि सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।