सर्लाहीको बरहथवामा भोलि बिहान ८ बजेसम्म कर्फ्यु

पुस २०, २०८० |कान्तिपुर टीभी संवाददाता
सर्लाहीको बरहथवामा भोलि बिहान ८ बजेसम्म कर्फ्यु

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवामा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै भोलि (शनिबार) बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

सूचनाअनुसार बरहथवा नगर क्षेत्रको उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थानसम्म शनिबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

‘मिति २०८० पौष २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने सम्बन्धी विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले बरहथवा नगरक्षेत्र (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी आज मिति २०८०।०९।२० गते बेलुका ५:३० बजेदेखि भोलि मिति २०८०।०९।२१ गते बिहान ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ,’ प्रजिअ धमलाले जारी गरेको सूचनामा भनिएको छ, ‘यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गर्न सक्नेछ ।’

यो पनि...

सर्लाही झडप अपडेट : प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु, ८ प्रहरी घाइते

अस्पतालको विवादमा प्रदर्शन, एक जनाको मृत्यु


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.