१७ वर्षदेखि बन्द दियालो बंगला सर्वसाधारणका लागि खुला गरिँदै

मंसिर २४, २०८० |राजु चौधरी
१७ वर्षदेखि बन्द दियालो बंगला सर्वसाधारणका लागि खुला गरिँदै

चितवन । १७ वर्षदेखि बन्द रहेको चितवनको दियालो बंगला सर्वसाधरणका लागि खुला हुने भएको छ । राजा महेन्द्रले निर्माण गरेको दियालो बंगला भरतपुर पर्यटन वर्ष २०२४ को अवसर पारेर खुला गर्न लागिएको हो ।

काठमाडौं जाने राजमार्गसंगै देवघाट प्रवेशद्वारमा जोडिएको यो हो दियालो बंगला । भरतपुर महानगरपालिका-१ आापटारीस्थित यो बंगला राजा महेन्द्रले वि.सं.२०२६ सालमा बनाएका थिए । २०२८ सालमा राजा महेन्द्रको यही बंगलामा निधन भयो । त्यसपछि दुई राजा वीरेन्द्र र ज्ञानेन्द्रले बंगलाको प्रयोग गरे । अन्तिम पटक २०६१ असोजमा राजा ज्ञानेन्द्र यस बंगलामा रात बसेका थिए । २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्यसंगै यो बंगला प्रयोगविहीन छ ।

हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको यो बंगला अब सर्वसाधरणका लागि संग्रहालयको रुपमा खुला हुने भएको छ । भरतपुर महानगरले बंगला खुलाउन पत्रचार गरेपछि भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर नेपाल ट्रष्टको ७८ औं सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

बंगला खुलाउने, व्यवस्थापन र सञ्चालनका बारेमा अझै स्पष्ट खाका बनिसकेको छैन । यद्यपी बंगलाको आम्दानी ५०/५० प्रतिशत भरतपुर महानगर र नेपाल ट्रष्टले राख्नेगरि तयारी अगाडि बढाइएको छ । अहिले बंगला जिर्ण अवस्थामा छ । बंगलाको हेरचाहका लागि पाँच जना कर्मचारी छन् । यसअघि यहाँ १५ जना कर्मचारी कार्यरत रहेको कर्मचारी दानबहादुर ढकालले जानकारी दिए ।

दियालो बंगला ५२ बिघा क्षेत्रफलमा छ । त्यसका अलवा नेपाल ट्रष्टको नाममा यहाँ बंगला रहेको क्षेत्रभन्दा बाहिर ५ बिघा जमिनसमेत छ । यस बंगलामा जाडो छल्न आउने राजपरिवार नारायणी नदी क्षेत्र घुम्ने, सिकार गर्ने गर्दथे ।

यस बंगलामा राजाले प्रयोग गर्ने खाट, खाना पकाउने, सिकार गर्ने, क्याम्प गर्ने संरचनाहरू छन् । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि 'नानीगञ्ज' छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वार्टर पनि छ । ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल र चेन्जिङ रुम पनि छ ।

अहिले त्यही घरमा ट्रष्टको कार्यालय राखिएको छ । यही परिसरमा आगो ताप्ने ठाउँ समेत छ । जहाँ बाहिरबाट कोही कसैले नदेख्नेगरी पर्खाल बनाइएको छ । बंगला परिसरमा एकैपटक चार वटा हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।