बारा । बारामा रहेका तीनवटा इलाका प्रशासन कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित भएको छ । सहज र छिटो सेवा दिने उद्देश्यले स्थापना गरिएको कार्यालयमै प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीलाई सानो कामका लागि पनि जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यता छ । जसका कारण जिल्ला प्रशासन कार्यालय बारामा भिडभाड बढेको छ ।
नागरिकलाई सहज र छिट्टो सेवा दिनका लागि बाराको सिमरा, कोल्हबी र सिम्रौनगढमा ईलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । तर राहदानीबाहेक नयाँ नागरिकता, राष्ट्रिय परिचयपत्र, नागरिकताको प्रतिलिलिलगायत सम्पूर्ण कामकाज हुने ईलाका प्रशासन कार्यालयहरु भने अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा अहिले सामान्य सिफारिसका लागि पनि सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय पुग्नु परेको सिम्रौनगढका सेवाग्राही मुकेशप्रसाद यादवले बताए ।
पहिला चार ठाउँबाट दिइने सेवा फेरि एकै ठाउँबाट लिनुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालयमा अहिले ठूलो भिड हुने गरेको छ । सामान्य सिफारिसका लागि पनि सदरमुकाम पुग्नुपर्दा अनेकौँ झमेला खेप्नुपरेको सेवाग्राहीहरु बताउँछन् ।
अहिले जिल्ला प्रशासन कार्यालय बारामा नयाँ नागरिकता, नेपाली राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकताको प्रतिलिपी लिनेहरुको भिड लाग्ने गरेको छ । सेवाग्राहीको अत्यधिक चाप बढेको जिल्ला प्रशासन कार्यालय बारामा पनि आवश्यकताअनुसारका कर्मचारी छैनन् । पदपूर्तिका लागि धेरै पटक पहल गर्दा पनि कुनै सुनवाइ नभएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटोले बताए ।
नागरिकको हरेक गतिविधिसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमै कर्मचारी नहुँदा सेवा लिन असहज भएको छ ।