जाजरकोट भूकम्पका पीडितलाई सघाउन जुटे विभिन्न राजनीतिक दलका स्वयंसेवक

मंसिर १८, २०८० |महेश केसी|सरोज वली
जाजरकोट भूकम्पका पीडितलाई सघाउन जुटे विभिन्न राजनीतिक दलका स्वयंसेवक

रुकुम पश्चिम । गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतविक्षत बनेका रुकुमपश्चिम र जाजरकोटका पीडितलाई सघाउन विभिन्न राजनीतिक दलका स्वयंसेवकले सक्रियता बढाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत दल र तिनका  संठनहरुले अहिलेसम्म जाजरकोट र रुकुमपश्चिममा २२ सय अस्थायी आवास बनाएका छन् ।

नेपाली कांग्रेसले रुकुमपश्चिम र जाजरकोटमा आफ्ना नेता-कार्यकर्ता परिचालन गरेको छ । सरकारी मापदण्ड भित्र रहेर १ सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य अनुसार रुकुमपश्चिममा स्वयंसेवक परिचालन गरिएको कांग्रेसले जनाएको छ । हालसम्म रुकुमपश्चिममा ५२ वटा र जाजरकोटमा २ सय १६ वटा अस्थायी आवास निर्माण गरेको कांग्रेसको दाबी छ । प्रत्येक स्थानीय तहमा केन्द्रीय सदस्यको नेतृत्वमा स्थानीय नेता-कार्यकर्ताहरुको समूह बनाएर परिचालन गरिएको कांग्रेसले जनाएको छ ।

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रमा एमालेले कुल १ हजार जना कार्यकर्ता २५/२५ जनाको ४० वटा समूह बनाएर पुनर्निर्माणमा खटिएको बताएको छ । भग्नावशेष व्यवस्थापन, सरसफाइ तथा पुरिएका सर-सामान उत्खनन र अस्थायी टहरा निर्माणमा विभिन्न तहका नेता-कार्यकर्ताहरु सक्रिय भएका छन् । जाजरकोटमा २५ र रुकुमपश्चिममा १५ वटा समूह बनाएर काम गरिरहेको बताउँदै एमालेले अहिलेसम्म करिब ६ सय वटा भग्नावशेष व्यवस्थापन र करिब ७ सय वटा अस्थायी टहरा तथा २० वटा सरकारी विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरेको जनाएको छ ।

माओवादी केन्द्र पनि दुईवटै जिल्लाका पीडितका लागि अस्थायी आवास निर्माणमा जुटेको छ । भूकम्प गएको भोलिपल्टदेखि नै कुनै न कुनै रूपमा आफ्ना नेता-कार्यकर्ताहरु पीडितको साथैमा रहेको माओवादीको दाबी छ । यस क्षेत्रका प्रतिनिधी सभा सदस्य तथा पार्टीका उप-महासचिव जनार्दश शर्माको नेतृत्वमा परिचालन भएका छन् । माओवादी केन्द्रले रुकुम पश्चिममा स्थानीयको समेत सहयोगमा करिब १ हजार वटा र जाजरकोटमा करिब ३ सय वटा अस्थायी आवास निर्माण गरेको जनाएको छ ।

लोकतान्त्रिक देशमा यहाँको विकास र जनमनका सुख-दुःखमा साथ दिने पहिलो जिम्मेवारी क्रियाशील राजनीतिक दलकै हो । यस कारण विभिन्न पार्टीका नेता कार्यकर्ताहरूको सक्रियतालाई सकारात्मक रूपमा लिइनुपर्छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।