अहिलेको गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसके : ओली

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
अहिलेको गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसके : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने जनाएका छन् ।

महाकाली-मेची अभियानअन्तर्गत दैलेखको राकममा आइतबार आयोजित सभामा उनले एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जाने क्रम घटेको दाबी गरे । उनले महाकाली-मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको दाबी गरे । ‘युवाहरु विदेशिनुपर्ने, रोजगारी नपाउने अवस्था बन्यो । एमाले सरकारमा छँदा गरिबी घटेको थियो । रोजगारी बढेको थियो । युवाहरु बाहिर जाने क्रम घटेको थियो,’ उनले भने, ‘देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिन्छ, अनिमात्रै देश बनाउन, विकास गर्न, सुशासन ल्याउन सकिन्छ । जनता अहिलेको गठबन्धन सरसकारबाट वाक्क, व्यक्क र दिक्क भइसकेको यी ४ दिनमा देखको छु ।’

उनले एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महँगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गरे । प्रतिगमनतिर फर्किने कुरा गर्नेहरु लोकतन्त्रविरोधी रहेको ओलीको टिप्पणी थियो ।

‘आज कोही प्रतिगमनतिर फर्किने कुरा गर्दै छ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रविरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैले बोल्छ भने सोच्छ भने त्यो नेपाल र नेपालीका हितमा बोलिरहेको छैन, सोचिरहेको छैन । नेपाल र नेपालीको हितविपरीत सोचिरहेको छ । एमाले हटाएको अढाई वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आयो, अराजकता छायो, अनेक प्रकारका खराबी छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो, महँगी बढ्यो,’ ओलीले भने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.