‘सबैका लागि पूर्वचेतावनी प्रणालीको विकास’ विषयक सत्रमा प्रधानमन्त्री दाहाल सहभागी

महासचिव गुटेरेस भन्छन्- जोखिममा परेका समुदाय जोगाउन सबैका लागि पूर्वचेतावनीको पहल आवश्यक
मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
‘सबैका लागि पूर्वचेतावनी प्रणालीको विकास’ विषयक सत्रमा प्रधानमन्त्री दाहाल सहभागी

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल आज (आइतबार) राष्ट्रसंघीय विश्व जलवायु सम्मेलनका क्रममा आयोजित ‘सबैका लागि पूर्वचेतावनी प्रणालीको विकास’ विषयक सत्रमा सहभागी भएका छन् ।

जलवायु परिवर्तनबाट प्रभावित मुलुकका प्रतिनिधि सहभागी उक्त सत्रलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जोखिममा परेका समुदायलाई जोगाउन सन् २०२७ सम्ममा सबैका लागि पूर्वचेतावनी पहल आवश्यक भएको बताए । यो महत्त्वाकांक्षी उद्देश्य भए पनि उपलब्धि हासिल गर्न सम्भव भएको उनले बताए ।

महासचिव गुटेरेसले विश्व तापमान १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य हासिल गर्न जैविक इन्धनको प्रयोग निश्चित समयसीमाभित्र अन्त्य गर्नुपर्ने उल्लेख गरे । पेरिस सम्झौताको लक्ष्य हासिल गर्न ग्रिन हाउस ग्यास उत्सर्जनलाई सन् २०१० को तुलनामा २०३० भित्र ४५ प्रतिशतमा झार्नुपर्ने उनको भनाइ छ ।

उक्त सत्रमा नेपालसहित स्विट्जरल्यान्ड, सोमालियालगायत जलवायु परिवर्तनबाट प्रभावित मुलुकका प्रतिनिधि सहभागी थिए ।

यसअघि हिजो जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको मार खेपिरहेका निर्दोष जनताको न्यायका लागि आफू सम्मेलनमा उपस्थित भएको बताएका थिए । सम्बोधनमा उनले जलवायु परिवर्तनबाट नेपालले प्रत्यक्ष रुपमा बाढी, पहिरो, आगलागी तथा हिमताल फुट्नेजस्ता ठूलो क्षति व्यहोरिरहेकाले त्यस्ता अन्याय रोकिनुपर्ने उल्लेख गरे ।

यसैबीच, जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल आइतबार स्वदेश फर्कँदै छन् । दाहाल साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने तालिका छ । उनी मंसिर १३ गते दुबई गएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.