मध्यपहाडी लोकमार्ग : लागत तेब्बर पुग्यो अझै निर्माण सकिएन

मंसिर १६, २०८० |विकास आचार्य
मध्यपहाडी लोकमार्ग : लागत तेब्बर पुग्यो अझै निर्माण सकिएन

काठमाडौं । २०६५ सालमा ८ वर्षभित्र सक्ने लक्ष्यसहित सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण कार्य १५ वर्ष बित्दा पनि सकिएको छैन । सरकारले यो आयोजनालाई आर्थिक वर्ष २०६९/७० मा राष्ट्रिय गौरवको रुपमा राखेको हो । तर निर्माणका क्रममा देखिएका समस्या सुल्झाउन सरकारले चासो नदिँदा आयोजनाको काममा ढिलाइ त भएको छ नै लागत पनि करिब तेब्बर अर्थात् ८४ अर्ब ३३ करोड पुग्न लागेको छ ।

पूर्व पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाट जोड्ने १८ सय ७८ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको भौतिक प्रगति हालसम्म ७२ दशमलव ७ प्रतिशत र वित्तीय प्रगति ७६ दशमलव ८ प्रतिशत पुगेको छ । ८ वर्षभित्र सक्ने आयोजनाको काम सुरु भएको १५ वर्ष बितिसकेको छ । सरकारले पटकपटक म्याद थप गरेर अब पाँच वर्षभित्रसम्म सक्ने लक्ष्य राखेको छ । तर त्यसबेलासम्म पनि आयोजना सकिने आधार देखिँदैन । सडकको सिमा एकिन नहुनु, क्षतिपूर्ति तथा मुआब्जा विवाद नटुंगिनु र रुख कटानलगायतका विषयमा सरकारी निकायबीच नै समन्वय नहुँदा आयोजनाको काममा ढिलाइ भएको हो ।

आयोजना निर्देशक रत्नलक्ष्मी बज्राचार्य भन्छन्, ९६० किमी हामीले र अन्य निकायबाट ४६२ किमी सडक बनिसकेको छ । प्रगति ७२.७ छ ।

नेपालको मध्यपहाडि भाग छिचोल्दै निर्माण भइरहेको १८ सय ७८ किलोमिटर लामो राजमार्गलाई दुई भागमा विभाजन गरेर निर्माण भइरहेको हो । आयोजना स्वयमले ११ सय ५८ किलोमिटर र अन्य निकायबाट ७ सय २१ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । एक करोड जनसंख्या लाभान्वित हुने गरी निर्माण गर्ने भनिएको आयोजनालाई चालु आर्थिक वर्षका लागि सरकारले ३ अर्ब ८६ करोड ९२ लाख बजेट विनियोजन गरेको छ ।

यद्यपि, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पहाडै पहाड पूर्वदेखि पश्चिम छिचोल्नु ठूलो क्रान्तिको रुपमा लिन्छ ।

त्यसो त यो आयोजनाअन्तर्गत १४ सय २ किलोमिटर सडक कालोपत्रे बनिसकेको छ । आयोजनामार्फत् १ सय २५ ठेक्कामार्फत् काम पनि भइरहेको छ । आयोजनाको पूर्वी खण्ड करिब सम्पन्न हुने चरणमा छ भने पश्चिमका केही ठाउँमा अझै ट्रयाक पनि खोलिएको छैन ।

पुष्पलाल मध्यपहाडी लोकमार्गले २४ जिल्लाका २ सय ५० भन्दा बढी बस्ती जोडिएका छन् । सुरुवातमा ३३ अर्बको लागत अनुमान गरिएको यो आयोजनाको संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड पुगिसकेको छ । अझै पनि १ सय १६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का लाग्न बाँकी छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement