गेडागुडीबाट देवताका कलात्मक आकृति बनाउँदै मनाइयो ‘सकिमिला पुन्ही’

मंसिर ११, २०८० |राजेन्द्र महर्जन|नारायण किलम्बू
गेडागुडीबाट देवताका कलात्मक आकृति बनाउँदै मनाइयो ‘सकिमिला पुन्ही’

काठमाडौं । काठमाडौं उपत्यकाका सांस्कृतिक पर्वमध्ये पृथक मानिएको हरिमण्डी अर्थात् सकिमिला पुन्ही आज मनाइएको छ । नेवार समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरी यो पर्व मनाउने चलन छ ।

ललितपुरको सुम्बहामा बनाइएको यो आकृति झट्ट हेर्दा महामञ्जुश्रीको पौभाचित्र जस्तै लाग्छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ, बकुला, सिम्पुलगायत ९ थरीका गेडागुडीले बनाइएको यो आकृतिलाई नसा ब्वयेगु भन्ने गरिन्छ । यसलाई पिँडालु, सखरखण्ड, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइन्छ । नेवार समुदायमा ऋतुअनुसार उब्जनी भएका अन्न इष्टदेवतालाई चढाएर खाने चलनअनुसार यो पर्व मनाइएको सुम्बाहा ललितपुरका सचिव सुरेन्द्र शाक्यको भनाइ छ ।

जात्राअन्तर्गत भुटेको गेडागुडीबाट काठमाडौं उपत्यकाका ऐतिहासिक मठ, मन्दिर र जात्रा सम्पदाहरुका साथै विभिन्न देवी देवताका कलात्मक आकृति बनाई प्रदर्शन गर्ने चलन छ । यसबेला दाफा भजन गाएर देवीदेवताप्रति भक्तिभाव दर्शाउने गरिन्छ ।

नेवार समुदायले ऋतुअनुसार गेडागुडीलगायत विभिन्न खाना इष्टदेवतालार्इ चढाएर मात्र खाने चलन छ । विशेषगरी यस दिन सकि अर्थात् पिँडालु, चाकु तथा सखरखण्ड उसिनेर खाने र विभिन्न थरिका भुटेका गेडागुडी खानाले शरीरमा तागत दिनुका साथै स्वस्थ हुने जनविश्वास रहेको ललितपुरकी उर्मिला बज्राचार्य बताउँछिन् ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले गेडागुडीबाट विभिन्न देवीदेवताको आकृति बनाएर मनाउने चलन छ । दाफा भजन सकिएपछि गेडागुडी तथा फलफूल सबै एकै ठाउँमा जम्मा पारी प्रसादका रुपमा घर-घरमा वितरण गर्ने चलन छ । कृषिमा आधारित सकिमिला पुन्ही सांस्कृतिक चाडका रुपमा आपसी सद्‌भावका साथ मनाइने गरिन्छ ।

हेरौं थप तस्बिर :


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।