विपिन बेपत्तापछि विक्षिप्त परिवार, सकुशल उद्धारका लागि आग्रह

मंसिर ५, २०८० |हरिश्चन्द्र बाग
विपिन बेपत्तापछि विक्षिप्त परिवार, सकुशल उद्धारका लागि आग्रह

कन्चनपुर । इजरायलमा हमास समूहको आक्रमणपछि नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशी डेढ महिनादेखि बेपत्ता छन् । विपिनलाई हमासले बन्धक बनाएर राखेको इजरायली सरकारी अधिकारीहरूले बताए पनि अहिलेसम्म उनको अवस्था अज्ञात छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको सीसीटीभी दृश्यमा विपिन रहेको बताए पनि परिवारले पुष्टि गर्न सकेको छैन ।

गत अक्टोबर ७ अर्थात् असोज २० का दिन प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ । आईडीएफले सामाजिक सञ्जाल एक्समार्फत् अक्टोबर ७ का दिन बिहान १० : ४२ देखि ११ : ०१ बीचको सीसीटीभी फुटेज भन्दै अल-शिफा अस्पतालमा एक घाइतेलाई हमास समूहले लैजाँदै गरेको दृश्य सार्वजनिक गरेको छ । उक्त सीसीटीभी फुटेजमा बन्धक बनाइएका नेपाली नागरिक र थाई नागरिक रहेको आईडीएफको दाबी छ । तर, विपिनका परिवारजनले भने अनुहार नदेखिएकाले फुटेजमा देखिएको दृश्यबाट उनी विपिन नै हुन् भन्ने पुष्टि गर्न सकेका छैनन् ।

विपिनका बुबा महानन्द जोशीले भिडियोमा स्पष्ट अनुहार नदेखिएकाले उनी आफ्नै छोरा हुन् भनेर चिन्न नसकेको बताए । उनले भने, ‘चेहेरा स्पष्टसँग देख्न सकिएन, कसरी चिन्ने ? समाचारमा नेपाली त भनिएको छ तर हामीले उनलाई चिन्न सकेनौँ, चिन्नै गाह्रो भयो ।’

विपिनको खोजी गरी सकुशल उद्धारका लागि उनको परिवारले सरकारका उच्चपदस्थ व्यक्तिसम्मलाई भेटेरै अनुनय गरेका छन् । विपिन बेपत्ता भएको खबर सुनेको दिनदेखि उनको परिवारमा रुवाबासी नै चलेको छ । सरकारी अधिकारीहरूसँग भेट्दा होस् वा सञ्चारमाध्यममा समाचार सुन्दा विपिनलाई हमास समूहले बन्धक बनाएको खबरले परिवारजनलाई आशावादी बनाइरहन्छ । तर आफैँले जन्माएको सन्तानको अवस्था सात समुद्र पारि युद्धग्रस्त क्षेत्रमा अज्ञात रहँदा परिवारजन बेचैनीमा छन् ।

विपिन सकुशल घर फर्किउन् भनेर हरेक पल भगवानसँग प्रार्थना गरिरहेको उनकी आमा पद्मा जोशीले सुनाइन् । उनले भनिन्, ‘आफ्नो मनलाई आफैँ बुझाउँछु । भगवानसित प्रार्थना गर्छौं । मेरो बालक जसरी पनि मेरो काखमा आओस् भन्ने आशा राख्छु ।’

विपिनका आमाबुवाले यही मंसिर २ गते बिहान परराष्ट्रमन्त्री एनपी साउदलाई महेन्द्रनगरमा भेटेरै छोराको अवस्थाबारे सोधपुछ गरी सकुशल रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गरेका थिए । विपिनको खोजीका लागि सरकारले सबै संयन्त्र प्रयोग गरिरहेको मन्त्री साउदको भनाइ छ । मन्त्री साउदले कान्तिपुर टेलिभिजनलाई भने, ‘तेस्रो पक्षमार्फत हमाससँग कुराकानी गरिरहेका छौँ । यसका लागि कतार सरकार र अन्तर्राष्ट्रिय रेडक्रसले पहल गरिराखेको छ । सरकार कोसिस गरिराखेको छ । यसबारे समयभन्दा पहिला भन्नुभन्दा यसमा मेहनत गर्नु पर्ने आवश्यकता छ । र सरकारले त्यो गरिराखेको छ ।’

इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेकामध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको जनाएको छ । यद्यपि विपिनको पछिल्लो अवस्थाबारे यकिन नभएको उल्लेख गर्दै दूतावासले हालसम्म उनी सम्पर्कविहीन रहेको जनाएको छ । दूतावासले उनको खोजी जारी रहेकोसमेत जानकारी गराएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।