जाजरकोट भूकम्पबाट ५ सय ३१ विद्यालयमा क्षति

७४ हजार विद्यार्थी प्रभावित
मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
जाजरकोट भूकम्पबाट ५ सय ३१ विद्यालयमा क्षति

जाजरकोट । दुई साता अघि गएको भूकम्पले जाजरकोट र रुकुमका ५ सय ३१ वटा विद्यालयमा क्षति पुगेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार भूकम्पका कारण ती विद्यालयमा अध्ययन गर्ने ७४ हजार विद्यार्थी प्रभावित भएका छन् । जाजरकोटमा ३३ हजार र रुकुम-पश्चिममा ४१ हजार विद्यार्थी प्रभावित भएका हुन् । विद्यालय भवन क्षतिग्रस्त भएपछि शिक्षा मन्त्रालयले अस्थायी शिक्षण केन्द्र निर्माण गरी पठनपाठन सुरु गर्ने योजना बनाएको छ । त्यसका लागि प्रदेश सरकार, स्थानीय तह र संघसंस्थासमेत लागिपरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जाजरकोट र रुकुम-पश्चिमका ७ हजारभन्दा बढी विद्यार्थीको पाठ्यपुस्तक पुरिएको अनुमान गरिएको छ । ती विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन मन्त्रालयबाट निर्देशन आए त्यसका लागि तयार रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

भूकम्पका कारण दुवै जिल्लामा गरी ४९ विद्यार्थीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.