खोटाङ । ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोइला र बिजुलीको रातो चिमबाट आगो सल्किदा खोटाङमा घर जलेको छ ।
ब्रोइलरको चल्लालाई न्यानो पार्न बालिएको कोइला र रातो चिमबाट सल्किएको आगोले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घर जलेको हो ।
आगलागीमा तीन तले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा अनुमानित १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
ब्रोइलरको चल्लालाई घरकै एउटा कोठामा राखेर तातो दिने क्रममा आगो सल्किएको थियो ।आगलागीपछि भाग्ने क्रममा राईकी भान्जी १५ वर्षीया सरिता तामाङको लडेर अगाडिको दुई वटा दाँत र बायाँ हात भाँचिएको प्रहरीले जनाएको छ । घाइतेलाई स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर तत्काल काठमाडौं पठाइएको छ ।
सरिता सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि अत्तालिएर भाग्ने क्रममा लडेर घाइते भएको बाक्सिला फुटबल क्लबका अध्यक्ष शिव राईले बताए ।
ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरिक्षकको कमाण्डमा खटिएको प्रहरी र स्थानीयबासीले आज बिहान २ बजे आगो नियन्त्रणमा लिएका थिए ।
अग्नी पीडितलाई क्षतिको आधारमा आर्थिक तथा बन्दोबस्तीका सामान उपलब्ध गराउने तयारी गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए ।