रूकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जना सिकिस्त

मंसिर ४, २०८० |महेश केसी
रूकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जना सिकिस्त

रूकुम पश्चिम । मध्यपहाडी लोकमार्ग अन्तरगत रूकुम खण्डको गोइरी ज्युलामा जिप दुर्घटना हुदाँ २२ जना घाइते भएका छन् ।

चौरजहारी नगरपालिका-१०, खोलागाउँबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी-८ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईकाअनुसार २२ जनामध्ये ७ जना सिकिस्त घाइते छन् । घाइतेहरूको चौरजहारी असपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिकिस्त घाइते पाँच जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि बाहिरी जिल्ला लैजाने तयारी भइरहेको छ । सिकिस्त घाइतेमध्यका दुई जनालाई भने एम्बुलेन्समार्फत सुर्खेत पठाइएको छ । 

मोटरसाईकलले ठक्कर दिदाँ एक पैदल यात्री घाइते

मध्यपहाडी राजमार्ग अन्तरगत रूकुम खण्डको सुलिहालेमा विपरीत दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा घाइते भएकी छन् ।

लु ४६ प ५२३६ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री सानीभेरी-२ पुर्तिमबाँडाकी ७० वर्षीया मोती पुन घाइते भएकी हुन् ।

घटनास्थलमा प्रहरी पुगेर चालकलाई नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ। 


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।