गैंडाको चोरी सिकार रोकिएन, निकुञ्ज र सुरक्षार्थ खटिएको सेनाको भूमिकामाथि नै प्रश्न

चितवनमा मात्र २५ वर्षमा १ सय ८३ गैंडा मारिए
मंसिर २, २०८० |राजु चौधरी
गैंडाको चोरी सिकार रोकिएन, निकुञ्ज र सुरक्षार्थ खटिएको सेनाको भूमिकामाथि नै प्रश्न

चितवन । विश्वमै दुर्लभ वन्यजन्तुमध्यको एक हो– एकसिंगे गैंडा । यही गैंडा हेर्न संसारभरका पर्यटक चितवन आउँछन् । तर, पछिल्लो समय गैंडा– तस्करको निशानामा पर्ने क्रम बढेको छ । पछिल्लो २५ वर्षमा १ सय ८३ गैंडा तस्करले मारेका छन् । यसले चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको भूमिकामाथि नै प्रश्न खडा भएको छ ।

बिहीबार दिउँसो चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणको सेनाको टोली नियमित गस्तीमा निस्किएको थियो । निकुञ्जको कोर क्षेत्रअन्तर्गत पूर्वीचितवनको सौराहा सेक्टरमा गस्ती टोली पुग्दा दुई वटा गैंडा मरेको भेटियो । एक सय मिटरको दुरीमा बनाइएका दुई वटा ठूला खाल्डोमा परेर दुई वटा गैंडा खाग काटिएको अवस्थामा भेटिएपछि तस्करले गैंडा मारेको पुष्टि भयो । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको चपरचुली सुरक्षा पोष्टको ३ किलोमिटर क्षेत्रभित्रै तस्करले दुई गैंडा मार्न सफल भएको घटनाले निकुञ्ज प्रशासन र सेनाको गम्भीर सुरक्षा लापरबाही भएको देखाएको संरक्षणकर्मी रामप्रित यादवको भनाइ छ ।

तस्करले १८ र ६ वर्षका दुई गैंडा मारेर खाग र खुर लगेका छन् । चाडपर्वको मौका छोपेर तस्करले गैंडा मारेपछि निकुञ्ज प्रशासनलाई झस्काएको छ । यो घटनाले निकुञ्जको सुरक्षामा चुनौती खडा गरेको छ । त्यसैले यसलाई गम्भीर रुपमा लिएर संलग्नको खोजी सुरु भइसकेको निकुञ्ज प्रशासनले जनाएको छ ।

यी दुई गैंडा मरेसंगै चितवन राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०८०/०८१ मा मात्रै विभिन्न कारणबाट मृत्यु हुने एक सिंगे गैडाको संख्या ८ वटा पुगेको छ । गत वर्ष २२ वटा गैंडा मरेका थिए । जसमध्ये दुई वटा गैंडा तस्करले करेन्ट लगाएर मारेका थिए । 

२०७८/७९ मा ३७ र सबैभन्दा धेरै २०७५/७६ मा ४३ वटा गैंडा मरेका थिए । निकुञ्ज प्रशासनका अनुसार पछिल्लो २५ वर्षमा १ सय ८३ गैंडा तस्करले मारेका छन् । द्वन्द्वकालमा सबैभन्दा धेरै गैंडा मारिएका थिए । नेपालमा ७ सय ५२ वटा गैंडा रहेको २०७७ को गणनाले देखाएको थियो, जसमध्ये सबैभन्दा धेरै चितवनमा ६ सय ९४ वटा गैंडा छन् । 


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।