विपद्का बेला प्रदेशबीच देखिएको एकता

कार्तिक २२, २०८० |बालकृष्ण अधिकारी
विपद्का बेला प्रदेशबीच देखिएको एकता

हेटौँडा । जाजरकोट भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ । भूकम्पले सबैभन्दा बढी क्षति कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा पुर्‍याएको छ । आसपासका जिल्लामा पनि क्षति पुगेको छ । क्षतिले आक्रान्त नागरिकलाई सहयोग गर्न सबै प्रदेश सरकारले हात अघि बढाएका छन् । दुःखको अवस्थामा प्रदेश सरकारहरुले देखाएको एकता र स्नेहले सकारात्मक सन्देश दिएको छ । एक रिपोर्ट-

जाजरकोट र रुकुमपश्चिममा भुकम्पका कारण धेरै मानिस प्रभावित छन् । ढलेका घरगोठमा च्यापिएका घाईतेहरुको उद्दार, उपचारसागै राहत वितरणमा सरकारी तथा गैरसरकारी प्रयास केन्द्रीत भइरहेका छन् । आफन्तसागै घरबाससमेत गुमाएका नागरिकलाई सबै क्षेत्रबाट सक्दो सहयोगको खाँचो छ । यस्तोमा देशका सबै प्रदेशबाट कर्णाली प्रदेश सरकारलाई आर्थिक सहयोग उपलब्ध भएको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारले एक करोड, बागमती प्रदेश सरकारले डेढ करोड आर्थिक सहयोगको घोषणा गरेका छन् ।

बागमती प्रदेशले भूकम्प प्रभावित कर्णाली प्रदेशलाई एक करोड ५० लाख दिने घोषणा गरेको र त्यसलाई पठाउने प्रक्रियामा रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र औषधि हितको टोली प्रभावित क्षेत्रमा पठाएको छ । मधेश प्रदेश सरकारले ६० लाख बराबरको खाद्य सामग्री सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सरकारबीच संकटका बेला देखिएको समन्वयले राष्ट्रको एकतालाई झन् मजबुद बनाउन सहयोग पुगेको विश्लेषक एवं हटौँडा क्याम्पसका सहप्राध्यापक अर्पण पराजुलीको भनाइ छ ।

त्यसो त प्रदेश सरकारले मात्र नभएर स्थानीय तहहरुले पनि राहत घोषणा गरिरहेका छन् । पोखरा महानगर, हेटौँडा उपमहानगरले आर्थिक सहयोगको निर्णय गरेका छन् । उद्धार र राहतपछि ढलेका संरचना बनाउनसमेत सरकारबीच यस्तै समन्वय हुन सके प्रभावित क्षेत्रका नागरिकको दैनिकी पुनः सामन्य बनाउन सकिन्छ । 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।