पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको मुख्य टनेलको आज प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम छ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतको उपस्थितिमा सुरुङमार्ग छिचोलिन लागेको हो ।
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छेडिन अब १.८ मिटर मात्र बाँकी छ । ११२६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग १०८९ मिटरमै जोडिएको छ । जसमध्ये ‘ब्रेक थ्रु’का लागि १.८ मिटर बाँकी राखेर १०८७.२ मिटर सुरुङ खनेर सकिएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभएको छ ।
दक्षिणतर्फ ६१० र उत्तरतर्फ ४७७.२ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री ओलीले रिमोट थिचेर १.८ मिटर भागलाई ब्लास्ट गर्ने कार्यक्रम छ । यसअघि नै तीन वटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । बाइपास एक- १५१, दुई- १६१ र तीन- १३० मिटरको रहेको छ ।
सुरुङमार्ग र बाहिरी भागको सुरक्षाको कामका लागि चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको छ । यहाँ इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी) मोडलमा काम भइरहेको छ ।