प्रतिभा र आत्मविश्वासले इतिहास रचेकी पलेशा

कार्तिक १२, २०८० |सुवास रोकाया
प्रतिभा र आत्मविश्वासले इतिहास रचेकी पलेशा

काठमाडौं । भनिन्छ- इतिहास विजेताहरुको हो र विजेताले नै इतिहास रच्छन् । मेहनत, साधना, प्रयत्न र लगनशीलताले हरेक सफलताको मार्ग प्रसस्त गर्छ । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको यही दृढ संकल्प र परिश्रमले नेपाललाई एसियाली पारा खेलकुदमा पहिलो र एक मात्र ऐतिहासिक कास्य पदक दिलाएको छ । उमेरले केवल २० वर्षकी पलेशाले पारा तेक्वान्दोमा आफूलाई यसरी निखारेकी छन् कि उनले धैरै अन्तर्राष्ट्रिय सहभागितामा पदक जित्दै विश्वसामु नेपालको सान बढाएकी छन् । प्रतिभा र आत्मविश्वासले भरिपूर्ण उनै पलेशा आज पदकसहित स्वदेश फर्कँदा न्यानो स्वागत पाइन् ।

चीनको हाङ्चोउस्थित एक्स एस जी स्पोर्ट्स सेन्टरमा एसियाली पारा खेलकुदमा पलेशाले महिला के- ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्य पदक जित्दै इतिहास रचिन् । एसियाली पारा खेलकुदमा पलेशाले जितेको कास्य नेपालका लागि पहिलो र एक मात्र पदक हो ।

क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४-१ अंकले पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा काजखस्तानकी खेलाडीसँग पराजित भए पनि पलेशालाई रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कास्य भिडन्तमा पलेशाले बाइ पाएपछि उनको पदक सुनिश्चित भयो । खेलसँगै अध्ययनमा पनि अब्बल पलेशा दुवै विधालाई एकसाथ अघि बढाउने योजनामा छिन् ।

पलेशाले सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कास्य पदक विजेता पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक- २०२० मा दुई 'बाउट' जितेर इतिहास रचेकी थिइन् ।

चीनमा पलेशाले कास्य जिते पनि प्रशिक्षक कविराज नेगी भने सन्तुष्ट छैनन् । तर, पलेशाको सफलतामा उनका अविभावक भने खुसी छन् । बालापनमा भएको अपांगता सफलतामा बाधक बन्ला की भनेर चिन्तित हुने गरेका पलेशाका बुबा प्रदीप अहिले भने छोरीको नामले आफूलाई चिनाउन पाउँदा गर्व गर्छन् । उनले भिन्न क्षमता भएका आफ्ना सन्तानलाई नलुकाउन र नयाँ अवसर खोज्दै भविष्य सुनिश्चित गर्न आग्रह गरेका छन् ।

पलेशा केही महिनाअघि मात्र अध्ययनका लागि चीनको सांघाई गएकी थिइन् । उनी आर्किटेक्चर इन्जिनियरिङकी विद्यार्थी हुन् । एसियाली पारा खेलकुदमा सहभागी हुन उनी त्यतैबाट हाङचोउ पुगेकी थिइन् । देश र परिवारसँग खुसी साट्न नेपाल आएकी उनी एक सातापछि फेरि चीन फर्किने छिन् ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement