मोरङ । मोरङ जिल्ला अदालतले उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी नेकपा एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको बुधबार बसेको इजालसले कोइरालालाई धरौटीमा छोड्न आदेश दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्य तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध अदालतले पुस दुईमा पक्राउ पुर्जी जारी गरेपछि उहाँहरु फरार हुनुहुनुथ्यो । मोरङ धनपालथान चारमा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।
मंसिर २७ गते २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो । पुस २ गते अदालतले उहाँहरूविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो । कोइराला बुधबार कार्यालय समय हुनासाथ अदालतमा उपस्थित हुनुभएको हो ।
सभापति पत्नी अञ्जला त्यसयता आफूले पढाउने महेन्द्र विराट रात्री विद्यालयबाट बिदा लिएर फरार हुनुभएको थियो ।