जुम्ली धानमा ब्लास्ट रोगको प्रकोप, किसानले खेतमै लगाए आगो

कार्तिक ११, २०८० |एलपी देवकोटा
जुम्ली धानमा ब्लास्ट रोगको प्रकोप, किसानले खेतमै लगाए आगो

जुम्ला । विश्वकै अग्लो स्थानमा फल्ने जुम्ली धानमा यसपटक रोग देखिएको छ । बाली भित्र्याउने बेलामा ब्लास्ट रोगले जुम्ली धान बिगारेपछि किसानले खेतमा रहेको धानमै आगो लगाएका छन् । कतिपय किसानले त गाईवस्तुलाई चर्नका लागि धानखेतमै छोडेका छन् ।

जुम्लाको तातोपानी गाउापालिका ४ र ५ वडाको मार्सी धानबाली मरुवा -नेक ब्लास्ट) रोगले नष्ट भएको छ। करिब ८० हेक्टर क्षेत्रफलमा उत्पादन भएको धानबाली भित्राउने समयमा मरुवा रोगले नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् । कृषि क्यालेन्डर अनुसार धानबाली असोज-कात्तिक महिनामा भित्राउने गरिन्छ । तातोपानीको सवै खेतको धान ब्लाष्ट रोगले नष्ट भएपछि अधिकाशं किसानले खेतमै धान गाईवस्तुको लागि छोडेका छन् । घर भित्राउन लागेको धानमा आगो लगाउन किसान बाध्य छन् ।

जुम्लाको लागि धानबाली मुख्य खेती हो । यही उत्पादनले वर्षभरि पुग्ने भएपनि यसवर्ष ब्लास्ट रोगको प्रकोपले धानबाली नष्ट भएको हो । जसका कारण यसपाली जुम्लामा धान राख्ने भकारी मात्र होइन, सयौा किसानका पेट रित्तिने भएका छन् । ब्लास्ट रोगका कारण धानबाली सखाप भएपछि तातोपानीका किसानले अप्रत्याशित रूपमा ठूलो क्षति व्यहोर्नुपरेको छ ।

स्थानीय कालीमार्सी धानबाली लगाएको क्षेत्रहरुमा ब्लाष्ट रोगले धान नष्ट गरेको छ । मार्सी धानको लागि ब्लाष्ट ठूलो रोग हो । वर्षभरि किसानले गरेको दुःख घर भित्राउने बेला नष्ट भएपछि जुम्ली किसान पीडामा छन् । तातोपानीको सबैभन्दा धेरै लाम्रा, नगर, एैरेनी हाँक, हियाँ खोला जिउलोमा बलास्ट रोगले धानबाली नष्ट भएको छ। 


Image

एलपी देवकोटा

देवकोटा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।