काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रूपमा रहेको बडादसैंले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ संकल्पको विकास गर्न सकोस् भन्दै शुभकामना दिएका छन् ।
विजयादशमी २०८० का अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरे ।
‘उमंगमय वातावरणमा देश परदेश गएका आफन्तको मिलनले नाता सम्बन्धलाई गाढा र न्यानो बनाउने भएकाले दसैंको विशेष सांस्कृतिक महत्त्व रही आएको छ । दसैंलाई सांस्कृतिक महत्त्वको चाडका रुपमा विकास गरी पर्वको गरिमा वृद्धि हुने गरी मनाउन अपिल गर्दछु,’ घिमिरेद्वारा जारी शुभकामना सन्देशमा छ ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उल्लेख गर्दै उनले संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्तिका रूपमा रहेका बताएका छन् ।
विभिन्न जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन नेपालीको पहिचान भएको सन्देशमा उल्लेख छ ।
चाडबाडमा भड्किलो व्यवहार गर्ने, अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले बडादसैंले आपसी एकता, शान्ति र सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
‘संस्कृति परिवर्तनशील विषय हो, कतिपय परम्परालाई परिवर्तन एवं सुधार गर्दा कुनै जाति वा समुदायको आफ्नो सांस्कृतिक परम्परा लोप हुन सक्छ । तसर्थ, हाम्रा नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रोत्साहित गर्दै जानु अहिलेको प्रमुख आवश्यकता हो,’ घिमिरेले भनेका छन् ।