सुन तस्करीको जालो : ५० जनाको सञ्जालमा २३ विदेशी

भाद्र २७, २०८० |रमेश धमला
सुन तस्करीको जालो : ५० जनाको सञ्जालमा २३ विदेशी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक वर्षमै ३६२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय माफियाले सञ्जाल नै तयार पारेर सुन तस्करी गर्ने गरेको खुलासा भएको हो । सीआईबीको अनुसन्धान घेरामा परेका ५० मध्ये २३ जना विदेशी नागरिक हुनुले पनि सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल नै प्रयोग भएको देखिन्छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ५७ दिनसम्म सुन तस्करी प्रकरणको अनुसन्धान गरेर आफ्नो निष्कर्षसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । ५० जनाको सञ्जाल तयार पारेर नेपालबाट एक वर्षमा ३ सय ६२ किलो सुन तस्करी भएको निष्कर्ष सीआईबीको अनुसन्धानबाट निस्किएको हो । पक्राउ परेका ३२ जनालाई अदालतमा पेस गर्न पठाए पनि १४ विदेशीसहित १८ जना फरारको सूचीमा छन् ।

सीआईबीले हङकङसम्म पुगेर गरेको अनुसन्धानले नेपालमा चिनियाँ आपराधिक समूहले सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गरेको खुलेको हो । अहिले सीआईबीले ६ चिनियाँ र ३ चिनियाँ मूलका नागरिकसहित ९ विदेशी पक्राउ गरेको छ । पक्राउ परेका दावा छिरिङ र एलेक्स नेपालका मुख्य एजेन्ट भनिए पनि उनीहरुभन्दा माथि अन्य दुई चिनियाँ रहेको देखिएका छन् । चिनियाँ नागरिक लिन र लीले हङकङमा बसेर दावा जिवाङसहितको लगानीमा नेपालबाट सुन पठाउने गिरोह तयार पारेको खुलेको हो ।

सन् २०२२ सेप्टेम्बरयता मात्रै ३६२ किलो सुन ल्याएको यो समूहले तस्करीका लागि करिब दुई वर्ष अध्ययन गरेको थियो । नेपालीकै नाममा सातवटा कम्पनी खोलेका चिनियाँले सुन तस्करी गर्न प्रयोग गर्नुपर्ने राजनीतिक संयन्त्र तयार पार्ने जिम्मेवारी दावालाई दिएका थिए । तर, ७ वटै कम्पनीका सञ्चालकले एक-अर्कालाई चिन्दैनन् । तस्करीमा हङकङका तीन कम्पनी प्रयोग भएका छन् । एक वर्षमै तीन अर्ब ५० करोडको सुन ल्याएको अनुसन्धानबाट खुलेको छ ।

‘उनीहरुले बैंकमै सिधै क्यास डिपोजिट गरेको अवस्था छ,’ सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले भने, ‘उनीहरुले ह्वाट्सएप र वीच्याटमा कुरा गर्ने गरेको देखिन्छ ।’

तस्करहरुले नेपालमा भन्सारबाट सामान निकाल्नेदेखि गोदाममा पठाउने र गाल्नेसम्मको जिम्मेवारी फरक-फरक व्यक्तिलाई दिइएको छ । जसले एकले अर्कालाई चिन्दैनन् ।

सुनको भुक्तानीका लागि चिनियाँ समूहले प्रयोग गरेको क्रिप्टो करेन्सी सबैभन्दा डरलाग्दो देखिएको छ । सीआईबीले मुख्य आरोपी भनेका एलेक्स, दावाजिङ र लिनबीच क्रिप्टोबाटै भुक्तानी भएको देखिन्छ । उनीहरुले प्रयोग गरेको क्रिप्टो यूएसडीटी हो- जुन अमेरिकी डलरसँग मिलान गरिएको हो । तस्कर समूहले बैंक खाता प्रयोग गरी क्रिप्टोबाट मात्रै कारोबार गर्नु डरलाग्दो अवस्था भएको साइबर विज्ञ बताउँछन् ।

तस्करको समूहले सन् २०२२ सेप्टेम्बर यताबाट मात्रै ३६२ किलो सुन ल्याउनुअघि करिब २ वर्ष नेपालमा नागरिकता र राहदानी लिने, कम्पनी स्थापना गर्नेदेखि भन्सार, अध्यागमन र राजस्वसम्म सबै सरकारी संयन्त्रको काम गर्ने शैलीको अध्ययन गरेका थिए । अहिले गरिएको अनुसन्धान र कारबाहीले यो सञ्जाल भत्किएको दाबी सीआईबीको छ ।

‘लोकल कम्युनिटीहरुमा तस्करहरुले लेयर कट्अफ गरेर काम गरिरहेका छन्,’ सीआईबी प्रमुख किरण वज्राचार्यले भनिन्, ‘यहाँको नागरिकता पासपोर्टहरु बनाएका छन् ।’

सीआईबीले भन्सार, संगठित अपराध, राष्ट्र बैंक, नागरिकता, राहदानी र अध्यागमन ऐनसमेतका आधारमा आठवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । यसअघि विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुनमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई हिरासतमै राखेको सीआईबीले यो समूहको अनुसन्धानलाई जारी राखेको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।