पोखरा-मुग्लिङ सडक मर्मत नहुँदा पर्यटक घटे

भाद्र ४, २०८० |प्रताप राना|ऋषिकान्त पौडेल
पोखरा-मुग्लिङ सडक मर्मत नहुँदा पर्यटक घटे

पोखरा । पर्यटकीय सहर पोखरालाई संघीय राजधानी काठमाडौंसित जोड्छ पृथ्वी राजमार्गले । यही राजमार्गको पोखरा-मुग्लिङ खण्डको स्तरोन्नति सुरु भएको दुई वर्ष बितिसकेको छ । काममा भइरहेको ढिलासुस्तीले वातावरणमा असर त पारेको छ नै राजमार्गको दुरावस्थाले पोखराको पर्यटन क्षेत्रसमेत खस्किन थालेको छ ।

अर्को वर्षको भदौभित्रै सम्पन्न गर्ने गरी ०७८ जेठ २ गते पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिङ खण्डलाई ६ लेनमा स्तरोन्नति गर्ने सम्झौता भयो । सोहीअनुरुप ८८ किलोमिटर लम्बाइको यो सडकलाई दुई खण्डमा बाँडेर काम सुरु गरियो । हालसम्म पूर्वी खण्डको साढे ४१ किलोमिटर दूरीको कामको भौतिक प्रगति ३१ प्रतिशत मात्रै छ । सम्झौताको दुईतिहाइ समय बितिसक्दा पश्चिमी खण्डमा जम्मा ८ प्रतिशत मात्रै काम भएको छ ।

पश्चिमी खण्डको ठेक्का पाएको चिनियाँ कम्पनीको ढिलासुस्तीले यो राजमार्ग भएर गुड्ने सवारीसाधन र स्थानीय दुवैलाई सास्ती छ । ‘कछुवाको गतिमा काम भएको छ । हामीलाई धुलो, धुवाँ र पानी पर्दा हिलोले निकै असर गरेको छ,’ तनहुँकी रीता भण्डारीको दुखेसो छ ।

पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले प्रयोग गर्ने मुख्य राजमार्ग यही हो । राजमार्ग स्तरोन्तिको काममा भइरहेको ढिलासुस्तीले यात्रा जोखिमपूर्ण हुँदा निजी सवारीसाधन लिएर पोखरा आउने पर्यटकले गन्तव्य नै परिवर्तन गर्ने गरेका छन् भने ‘पर्यटक बस’ मार्फत घुम्न आउनेहरु पनि घट्न थालेका छन् । सामान्य अवस्थामा मुग्लिङदेखि पोखरासम्मको ८८ किलोमिटर दूरी दुई घण्टामै पार हुने भए पनि अहिले ६ घण्टाभन्दा बढी लाग्छ ।

पोखरा आउने पर्यटक अन्यत्र डाइभर्ट हुने अवस्था आएको पोखरा पर्यटन परिषद्‌का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘हामीले अहिले इन्डियामा मार्केटिङ गरिराख्दा पहिला मुग्लिन-पोखराको बाटो चाँडो बनाऊ न हामी पर्यटक पठाउँछौं भन्छन् ।’ यही बाटाकै कारण व्यवसायी विस्तापित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘बाटोकै कारण यहाँ आउने पर्यटक अन्यत्र डाइभर्ट भए,’ उनले भने, ‘यसमा हामी एकदमै गम्भीर हुन जरुरी छ ।’

जामुनेदेखि पोखराको सेतीपुलसम्म करिब ३९ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति चीनको अनहुई कैयुएन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ । आठ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का लागेको यो खण्डको भौतिक प्रगति हेर्दा सम्झौताअनुसार २०८१ भदौमा सम्पन्न हुने सम्भावना टरेको छ । नियमनकारी निकायले भने कामको गति बढाउनतर्फ नभई निर्माण व्यवसायीलाई दोष थुपार्ने गरेको छ ।

‘काम ढिलाइ हुनुमा निर्माण व्यवसायीकै क्षमता प्रमुख कुरा देखिन्छ,’ जामुने-पोखरा खण्डका आयोजना प्रमुख अमितकुमार श्रेष्ठले भने, ‘कामको गति न्यून भएका कारणले गर्दा ढिलाइ भएको हो भन्ने बुझाइ छ ।’

एसियाली विकास बैंकको आर्थिक सहयोगमा बन्न लागेको सडक विस्तारको ढिलासुस्तीमा सम्बन्धित निकायको लापरबाही त देखिन्छ नै यसकै कारण पर्यटन नै मुख्य आधार रहेको पोखरा र समग्र गण्डकी प्रदेशकै अर्थतन्त्रमा नकारात्मक असर पुग्ने खतरा छ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।

Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।