म्याग्दी । छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा बाढीले वितण्डा मच्चाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारीअनुसार वारागुङमुक्ति क्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तलको कागबेनी बस्तीमा पस्दा १० वटा घर-होटल, प्रहरी चौकी, जोमसोम–कोरोला सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, दुईवटा गाडी र तीनवटा विद्युत पोल बगाएको छ ।
त्यसैगरी बाढीले कागबेनीस्थित हिन्दुहरुको श्राद्धस्थल तथा धर्मशाला पुरेको छ । मनसुनमा पनि पानी नपर्ने छायाँवृष्टी भएको मुस्ताङमा दुई दिनदेखि लगातार झरी परेपछि मुक्तिनाथदेखि केही तल झोङमा पहिरोसँगै कागखोलामा मिसिएपछि बाढी आएको हो ।
‘आईतबार साँझदेखि स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागबेनी बस्तीमा बाढीले वितण्डै मच्चाएको छ । बाढीपहिरोले सडकमार्ग धेरै स्थानमा बिगारेकाले हामी जोमसोमबाट कागबेनीतर्फ पैदल हिँडेका छौँ । घट्नास्थल पुगेर थप विवरण संकलन हुन्छ,’ जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले भने, ‘स्थानीय, प्रहरी र त्यहाँ पुगेका पर्यटकहरु रातभर सुरक्षित स्थलमा आकाशमुनि रात बिताएका छन् ।’