करिब दुई सातादेखि बेपत्ता महिलाको शव गाडिएको अवस्थामा भेटियो

श्रावण २७, २०८० |चन्द्र कार्की
करिब दुई सातादेखि बेपत्ता महिलाको शव गाडिएको अवस्थामा भेटियो

तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका-१ डाँडागाउँमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ (दमन्ता) को शव उनकै पसल पछाडिको संगुरको खोरमा गाडेको अवस्थामा शनिबार अपराह्न फेला परेको हो ।

विगत पाँच वर्षदेखि श्रेष्ठ दम्पतीले श्रीकृष्ण मावि डाँडागाउँको क्यान्टिन सञ्चालन गर्दै आएका थिए । क्यान्टिनमा खाजा र किराना पसल सञ्चालन गर्दै आएकी श्रेष्ठ एकाएक पसलबाटै हराएको भन्दै श्रीमान् राजकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय संक्रान्ती बजारमा खोजतलासका लागि निवेदन दिएका थिए ।

प्रहरीले खोजी गरिरहेकै समयमा गत साउन २४ गते बिहानैदेखि राजकुमार पनि फरार भएका थिए । राजकुमार उनले चढ्ने प्र.–०१–०३–००१ प ०४८९ नम्बरको मोटरसाइकलसहित बेपत्ता छन् । प्रहरी, स्थानीय र माइती पक्षले शनिबार खोजीलाई तीव्रता दिएका थिए । सोही क्रममा उनको शव गाडेको अवस्थामा फेला परेको हो ।

श्रेष्ठको शव उनकै पसल पछाडिको सुंगुरको खोरमा प्लास्टिकमा बेरेर गाडेको अवस्थामा फेला परेको हो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक छेफिन्जो भोटेको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमान्‌ले नै हत्या गरेर गाडेको हुन सक्ने प्रहरीले शंका गरेको छ । श्रेष्ठ दम्पतीबीच समय-समयमा पारिवारिक झगडा भइरहने गरेको स्थानीयले बताएका छन् । उनीहरुले १० वर्षको कागज गरेर १ लाख रुपैयाँ बन्धकी राखेर नजिकै रहेको श्रीकृष्ण माविको क्यान्टिन सञ्चालन गर्दै आएको सोही विद्यालयका शिक्षक उमानाथ भण्डारीले जानकारी दिए । उक्त क्यान्टिन पनि उनले केही दिन अघि मात्रै अर्कै व्यक्तिलाई बिक्री गरेका थिए । 

रेशिकाको शव सडेको अवस्थामा प्रहरीले खाल्डोबाट झिकेको छ । उनको शव परीक्षणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ भने राजकुमारको खोजी कार्य भइरहेको इलाका प्रहरी चौकी संक्रान्ती बजारका प्रहरी नायब निरीक्षक जुलुमकुमार चौधरीले जनाए ।


Image

चन्द्र कार्की

कार्की कान्तिपुर टेलिभिजनका तेह्रथुम संवादाता हुन् ।


Enter Kantipur TV HD
Advertisement