उत्तराखण्डको पहिरोमा जुम्लाका ११ जना बेपत्ता

श्रावण १९, २०८० |एलपी देवकोटा
उत्तराखण्डको पहिरोमा जुम्लाका ११ जना बेपत्ता

जुम्ला । भारतको केदारनाथ गौरीकुण्डको पहिरोमा परेर ११ नेपाली बेपत्ता भएका छन् । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराअनुसारका बेपत्ता भएकाहरु जुम्लाका रहेको खबर आएको छ ।

घटनाबारे जानकारी लिन भारतमा सम्पर्कको प्रयास भइरहेको अध्यक्ष बोहोराको भनाइ छ । बेपत्ता भएकाको पहिचानसमेत खुल्न सकेको छैन ।

व्यापारका सिलसिलामा केदारनाथ पुगेका उनीहरू बास बसेको होटेल नै पहिरोले बगाउँदा बेपत्ता भएका हुन् ।

प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवालका अनुसार गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा बिहीबार राति पहिरोमा केही नेपाली र भारतीय नागरिक बेपत्ता भएको सूचना दिल्ली दूतावासका भारतीय प्रहरीबाट प्राप्त भएको छ ।

पहिरोमा बेपत्ता हुनेहरूको खोजी र पहिचान गर्न भारतीय दूतावाससँग समन्वय भइरहेको छ ।

यसैबीच गृह मन्त्रालयले शुक्रबार बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

गृहले भारतीय समाचारलाई आधार मानेर बेपत्ता नागरिकको उद्धारको लागि समन्वय गर्न पत्राचार गरेको हो ।


Image

एलपी देवकोटा

देवकोटा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।