औषधीय प्रयोजनका लागि गाँजा खेतीका लागि कार्यविधि ल्याउने तयारी

जेष्ठ २५, २०८० |बालकृष्ण अधिकारी
औषधीय प्रयोजनका लागि गाँजा खेतीका लागि कार्यविधि ल्याउने तयारी

हेटौंडा । औषधीय प्रयोजनका लागि गाँजाखेती गर्न पाइने गरी कार्यविधि ल्याउने तयारी सरकारले गरेको छ । आर्थिक वर्ष ०८०/८१ को बजेटमा गाजाँखेतीका सम्भाव्यता अध्ययन गर्न बजेट नै छुट्टयाइएको छ । गाँजाखेतीमा प्रतिबन्ध छिटोभन्दा छिटो फुकुवा गरी किसानलाई खेती गर्ने अवसर दिनुपर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने भन्दै सांसद र अधिकारकर्मीहरूले समेत पहल गरिरहेका छन् ।

सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसंघको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१’ पारित गर्‍यो । त्यहीबेलादेखि गाँजालाई लागुऔषध मान्दै प्रतिबन्ध लगाइएको हो । उक्त अभिसन्धिमा हस्ताक्षर गरेपछि नेपालले सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन नै बनायो । पाँचपटक संशोधन भइसकेको ऐनले गाँजाखेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय मानेको छ । गाजाँखेती अवैध भएका कारण भित्र्याउने बेलामा गाउँगाउँमा प्रहरी पुगेर नष्ट गरिदिन्छन् ।

‘खेतीलाई हामीहरुले नष्ट गर्छौं । त्यति गर्दा गर्दै पनि कतिपय ठाउँमा नभेटेको, नदेखेको, नभ्याएको ठाउँहरुमा खेती हुँदो रहेछ । त्यो ढुवानी गर्ने क्रममा सूचना संकलन गरेर कहाँ कलेक्सन गरेका छन्- त्यसलाई पक्राउ गर्ने गरेका छौं,’ मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले भने ।

मकवानपुरका किसानले कानुन बनाएर गाजाँखेतीलाई वैध बनाउन माग गरिरहेका छन् । ‘किसानका छोराछोरीलाई अन्यायमा पर्ने काममा अल्झिराख्नु हुँदैन,’ मकवानपुर राक्सिराङका महेश प्रजाले भने, ‘तुरुन्त वैधानिकता दिने, उत्पादनको कुरामा जनता आफैं सक्षम छन् ।’

सन् २०२० को अन्त्यतिर राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै ‘हानिकारक’ समूहबाट हटाएपछि नेपालमा पनि यसमाथिको प्रतिबन्ध फुकुवा गर्नेबारेको बहस सुरु भएको हो । प्रतिबन्ध हटाउन संसद्‌मा प्रस्तावसमेत दर्ता भयो । लागुऔषध नियन्त्रण ऐन २०३३ ले नै नेपालमा अनुमतिपत्र लिई औषधिजन्य प्रयोगका लागि गाँजाखेती गर्न सकिने व्यवस्था गरेको छ ।

कानुनले व्यवस्था गरे पनि यसको खेती सहज भने छैन । हालसम्म क्यानडा र उरुग्वेले मात्र गाँजालाई कानुनी मान्यता दिएका छन् । प्रतिबन्धित भए पनि नेपालका विकट गाउँहरूमा गाँजाखेती हुने गरेको छ । मकवानपुर, बारा, पर्सा र पश्चिमका पहाडी जिल्लामा गाजाँखेतीको सम्भावना प्रशस्त छ । निर्वाचनका बेला मकवानपुरमा मतदाता आकर्षित गर्न गाँजालाई वैध बनाउने नारा नै दिइएको थियो ।

‘यसलाई घुमाउरो पाराले रिसर्च गरिरहनुभन्दा चाँडै वैधानिकता दिए गरिबहरुको आम्दानीको स्रोत बढ्ने थियो,’ राक्सिराङ गाउँपालिका मकवानपुरका अध्यक्ष राजकुमार मल्लले भने ।

नेपालले विश्वयुद्धका बेला गाँजाबाटै बनाइएको झाडापखालाविरुद्धको औषधि निर्यात गरेको सिंहदरबार वैद्यखानाले जनाएको छ । निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजाबाट बनेको औषधि प्रयोग हुने चिकित्सक बताउँछन् ।

‘आयुर्वेदको चरक संहितामा पनि आएको हो । यो औषधि बन्छ,’ सिंहदरबार वैद्यखाना विकास समितिका डा. हरिदेवप्रसाद यादवले भने, ‘वैद्यखानाले पनि गाँजाबाट पाँच प्रकारको औषधि बनाएको देखिन्छ ।’ उनका अनुसार यो औषधि विशेषगरी भोक बढाउने क्षमता बढाउँछ, यस्तै यो खाएपछि पेनकिलरका रुपमा काम गर्छ ।

किसानले खेती गरेर उत्पादन गरिसकेको गाजाँखेतीको सम्भाव्यता अध्ययनभन्दा पनि यसको खेतीलाई वैधता दिन आवश्यक रहेको जानकारहरू बताउँछन् ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।