काठमाडौं । क्रोएसिया यूएफा नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलसँग बराबरी खेल्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरिसकेको थियो ।
स्टेडियम पोलजुडमा पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डोसहितका केही स्टार खेलाडीलाई विश्राम दिएका थिए । भ्रमण टोलीका लागि ३३औं मिनेटमा चेल्सीका फरवार्ड जोआओ फेलिक्सले भिटीनहाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
आन्द्रे क्रमारिकको प्रहार वुडवर्कमा लागेर डिप्लेक्ट भएपछि क्रोएसिया बराबरी गोल फर्काउन असफल भएको थियो । तर ६५औं मिनेटमा म्यानचेस्टर सिटीका डिफेन्डर जोस्को ग्भार्डियोलले क्रिस्टिजन ज्याकिकको क्रसलाई गोलमा परिणत गरेपछि घरेलु टोलीले पुनरागमन गर्यो ।
बराबरीसँगै लिग ए समूह एकमा ६ खेलमा १४ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा कायमै रहृयो । समान खेलमा ८ अंक जोडेको क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गर्यो ।
यस्तै एन्डी रोबर्टसनले इन्जुरी समयमा हेडर गोल गरेसँगै स्कटल्याण्ड पोल्याण्डलाई २-१ गोलले हराउँदै समूहको तेस्रो स्थानमा उक्लिएको छ ।