सीमामा बन्न लागेका ४ पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

जेष्ठ २४, २०८० |अनिल मिश्र
सीमामा बन्न लागेका ४ पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

जनकपुर । नेपाल-भारत सीमा भएर बग्ने धनुषाका नदीमा ४९ करोड २३ लाखभन्दा बढीको लगानीमा नेपाल सरकारले चारवटा पुल निर्माण गरिरहेको छ । तर भारतीय सीमा सुरक्षाबलको अवरोधका कारण चारवटै पुल निर्माणका काम रोकिएका छन् । निर्माण नियमित गराउन दुवै देशबीच कूटनीतिक पहल हुन सकेको छैन ।

नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सेतुको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा मार्गमा पर्ने धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको जमुनी नदीमा रहेको यो थलीघाट हो । नेपाल सरकारको चार करोड ७२ लाख रुपैयाँ लागतमा ७ वर्षअघि यहाँ सुरु गरिएको पुल निर्माणको काम अहिलेसम्म पूरा हुन सकेको छैन ।

भौतिक प्रगति ६५ प्रतिशत भइसकेपछि भारतीय सीमा सुरक्षाबलले आफूहरुको भूमिमा परेको भन्दै कामै गर्न नदिएपछि ६ वर्षदेखि पुल निर्माणको काम अलपत्र छ ।

पुल नहुँदा आफूहरुलाई निकै अफ्ठ्यारो भएको मुखियापट्टी मुसहरनियाका श्यामसुन्दर साह बताउँछन् । अहिले पानी कम भएकाले आउजाउमा सहज भए पनि बर्खामा गाह्रो हुने उनको भनाइ छ । उनका अनुसार बर्खामा पाँच मिनेटको बाटो एक/डेढ घण्टा लगाएर हिँड्नुपर्ने अवस्था छ ।

‘सबै नेताहरुले भन्छन् कि- मलाई जिताएपछि यो पाँच वर्षमा म पुल बनाइदिन्छु । अनि जितेपछि त केही गर्दै गर्दैन,’ मुखियापट्टी मुसहरनियाका युवा रमणकुमार राय भन्छन् ।

निर्माण कम्पनीले तीन करोड ४३ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाइसकेको छ ।

भारतसँगको धनुषाको मुख्य व्यापारिक नाका जटहीमा पनि निर्माणाधीन अर्को पुलको पनि थलीघाटजस्तै अवस्थामा छ । नेपाल-भारतको सीमा भएर बग्ने जमुनी नदीमा २३ करोड ९१ लाख रुपैयाँको लागतमा थालिएको यस पुलको निर्माणको काम पनि दुई वर्षदेखि बन्द छ ।

‘भौतिक मन्त्रालयसम्म हामीले खबर पुर्‍याएका छौं । फाइल अगाडि बढेको छ । सीमा विवादको कारणले दुई देशबीचको कुरा भएको हुनाले त्यसको समाधान आएपछि मात्रै अगाडि बढ्ने हो,’ सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख अरुणकुमार लाल कर्णले कान्तिपुर टेलिभिजनसँग भने ।

९ करोड ४६ लाख रुपैया भुक्तानी पाइसकेको रमण र कमल निर्माण कम्पनीले यस जुमुनी नदीकै अक्रहर घाटमा ४ वर्षअघि थालेको अर्को पुल निर्माणको काममा पनि भारतीय सीमा सुरक्षाबलले अवरोध पुर्‍याएको छ ।

झन्डै ९ करोड ६० लाखमध्ये ६ करोड ४३ लाख रुपैयाँ भुक्तानी भइसके पनि पुल निर्माण हुन नसक्नुको पछाडिको कारक पनि सीमा विवाद र निर्माण कम्पनीको ढिलासुस्ती नै हो ।

तर मुखियापटी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादव भने पुल निर्माणको काम रोकिनु कुनै कारण नदेखेको प्रतिक्रिया दिन्छन् । ‘ठेकेदार आउनु । सामान झार्नु । काम गर्न दिँदैन भने हामीहरु कुरा गर्छौं,’ उनले भने, ‘काम गर्ने वातावरण बनाउँछौं । तर ठेकेदारहरु नै नआएपछि यस्तो समस्या आएको हो ।’

उनले सबैतिर कुरा गरिरहेको र ठेकेदार आएर काम गरे अवरोध कहीँ नहुने आश्वासन पनि दिए ।

सीमा क्षेत्रमा बन्ने यस पुलले नेपाल-भारत दुवै देशका नागरिक र व्यापारीलाई फाइदा पुग्छ । त्यही भएर निर्माण सम्पन्न गर्न कूटनीतिक पहल आवश्यक छ । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।