विश्व खाद्य स्वच्छता दिवसमा प्रभातफेरी

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
विश्व खाद्य स्वच्छता दिवसमा प्रभातफेरी

काठमाडौं । विश्व खाद्य स्वच्छता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।

‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ मूल नाराका साथ दिवसको अवसरमा आज बिहान काठमाडौंमा प्रभातफेरी गरिएको छ ।

बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रांगणबाट माइतीघर मण्डला, भद्रकाली हुँदै प्रदर्शनीमार्ग राष्ट्रिय सभागृहसम्म प्रभातफेरी गरिएको थियो ।

यस्तै विभागको आयोजनामा राष्ट्रिय सभागृहमा मूल समारोह कार्यक्रम हुँदैछ । बिहान साढे ९ बजेदेखि सुरु हुने मूल समारोह कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालसमेत सहभागी हुने विभागले जानकारी दिएको छ ।

खाद्यान्न सुरक्षामा उपभोक्ताको हकलाई संविधानले समेत सुनिश्चित गरेको छ । तर नेपालमा प्रभावकारी अनुगमन तथा नियमन नहुँदा उपभोक्ताले असुरक्षित तथा अखाद्य वस्तुको मिसावट भएका खाद्यान्न उपभोग गर्न बाध्य छन् ।

सरकारले १३७ वटा खाद्य पदार्थहरुको मापदण्ड र स्वच्छतासगँसम्बन्धी मापदण्ड तयार गरी लागु गरेको छ । यद्यपि, उपभोक्ताले भने अझै ढुक्क भएर कुनै पनि खाद्य वस्तु प्रयोग गर्ने अवस्था भने नेपालमा बनिसकेको छैन ।

डब्लुएचओको तथ्यांकअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष करिब ५५ करोड मानिस बिरामी पर्ने गरेका छन् । यस्ता खानाकै कारण बर्सेनि २ लाख ३० हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।

संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्षको जुन ७ तारिख विश्वभर मनाउने गरिन्छ । सन् २०१८ डिसेम्बर २० मा राष्ट्र संघको महासभाले जुन ७ मा यो दिवस मनाउने निर्णय गरेको थियो ।

यो पनि..


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.