रत्नमन्दिर दरबार जेठ १५ देखि सर्वसाधारणका लागि खुल्ने

जेष्ठ १२, २०८० |भुपाल गुरुङ
रत्नमन्दिर दरबार जेठ १५ देखि सर्वसाधारणका लागि खुल्ने

पोखरा । शाहवंशीय राजाको इतिहास गाँसिएको पोखराको फेवातालछेउमा रहेको तीनतले रत्नमन्दिर दरबारलाई नेपाली सेनाले पहरा दिएर राखेको छ ।

दरबार कस्तो छ ? त्यहाँभित्र के छ ? भन्ने जिज्ञासा अब मेटिने भएको छ । गणतन्त्र दिवसको अवसरमा यही जेठ १५ गतेदेखि सर्वसाधारणका लागि ऐतिहासिक रत्नमन्दिरको ढोका खुल्ने भएको छ ।

प्यागोडा शैलीमा बनाइएको रत्नमन्दिर दरबारलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा खुला गर्न लागिएको हो । २०६४ सालमा गणतन्त्र स्थापनापछि नेपाल ट्रस्टको स्वामित्वमा रहेको यो दरबारलाई खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

अहिले दरबार परिसरमा मर्मत सम्भार, साजसज्जादेखि सीसीटीभी जडान, शौचालय, टिकट घर बनाउनेलगायत काम चलिरहेको छ । इतिहास बोकेको दरबारको भौतिक संरचनामा कुनै असर नपर्ने अहिले २८ रोपनी मात्र पर्यटकका लागि खुला गरिनेछ ।

‘जस्तो छ त्यस्तै राख्छौँ । रङरोगन गरेर चहकिलो बनाउँछौँ । फूलबारीहरू काट्ने, मास्ने केही पनि गर्दैनौँ । बरू अझै फूलहरू रोप्छौँ,’ नेपाल ट्रस्ट सञ्चालक समिति सदस्य योङजोम शेर्पाले रत्नमन्दिर दरबार सञ्चालन र संरक्षणको योजना सुनाइन् ।

शाह वंशीय राजा महेन्द्रले विक्रम संवत् २०१३ सालमा १ सय ७६ रोपनी किनेर आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए । तत्कालीन राजपरिवारले तनाव र थकाइ बिसाउन बनाइएको दरबारभित्र तत्कालीन राजपरिवारका सदस्यले प्रयोग गर्ने साना सामान्य सामानदेखि महँगा उपहारसम्म सुरक्षित राखिएका छन् ।

नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक ‘पेन्टिङ’हरू दरबारभित्र छन् । सुरक्षा कारण तत्काललाई दरबारभित्रको भागलाई परिसरमै भिडिओ प्रविधिबाट बाहिर देखाउने व्यवस्था गरिने छ ।

पर्यटकले साताको सोमबारबाहेक अन्य दिन टिकट लिएर दरबार अवलोकन गर्न सक्नेछन् । दरबार खोल्ने भएपछि पर्यटकको अवागमनमा वृद्धि र बसाइ लम्बिने भन्दै पर्यटन व्यवसायी उत्साहित छन् । ‘रत्नमन्दिर सर्वसाधारणका लागि खुला हुने भएसँगै पोखराको पर्यटनलाई नयाँ उचाइमा लान्छ भन्ने हामीले विश्वास गरेका छौं,’ पोखरा पर्यटन परिषद्, कास्कीका सचिव हरि भुजेल भन्छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तदारुकताका कारण रहस्यमय रत्नमन्दिर दरबारको ढोका गणतन्त्र स्थापनाको १५ वर्ष पछि उघारिन लागेको हो ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।