बैतडीबाट एक सुत्केरीको हवाई उद्धार

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
बैतडीबाट एक सुत्केरीको हवाई उद्धार

बैतडी । बैतडीबाट एक सुत्केरीको हवाई उद्धार गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका १, रिमकी २६ वर्षीया दमयन्ती भट्ट जोशीको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले जानकारी दिए ।

सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएका कारण मंगलबार हेलिकोप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उनले जानकारी दिए ।

दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाएको र ब्लड बैंक नहुँदा अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी डोबालको भनाइ छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दमयन्तीलाई सेनाको हेलिकोप्टरमार्फत सुविधा सम्पन्न अस्पातलमा लगिएको हो । समस्यामा परेका गर्भवती तथा सुत्केरीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.