तेह्रथुम । तेह्रथमुको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहीबार दिउँसो ३ बजे आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । आगलागीमा ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भुपेन्द्र भुजेलको मुत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए ।
घर भन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा चार स्थानीय घाइते भएका छन् भने एकको अवस्था चिन्ताजनक रहेको छ । ६० वर्षीय देवेन्द्र नेवारको हात र खुट्टा जलेको हो । अन्य तीनको अवस्था सामान्य छ ।
उनीहरुलाई उपचारका लागि स्थानीय छथर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको डढेलो वस्तीमा सल्किएपछि मानवीय क्षति भएको हो । आगलागीमा पूर्व वडाध्यक्ष तुलसीजंग थापाको घर र गोठ जलेको छ ।
प्रहरीले क्षतिको थप विवरण संकलन गरिरहेको छ । स्थानीय र प्रहरी आगो निभाउन प्रयासरत छन् ।