मदिराको खाली बोतलले अन्नपूर्ण पदमार्ग क्षेत्र प्रदूषित बन्दै (तस्बिरसहित)

वैशाख २३, २०८० |घनश्याम खड्का
मदिराको खाली बोतलले अन्नपूर्ण पदमार्ग क्षेत्र प्रदूषित बन्दै (तस्बिरसहित)

म्याग्दी । मदिरा खानेले स्वाद र मनोरञ्जन लिए, बेच्नेले पैसा कमाए । तर स्थानीयबासीले भने सास्ती भोग्नु परेको छ । कसरी ? भन्ने प्रश्न उठाउँनु होला तपाईंले । अन्नपूर्ण पदमार्गमा आएका पर्यटकले सेवन गरेका बियर र अन्य मदिराका रिक्ता बोतलको व्यवस्थापन नहुँदा गाउँलेका बारी र वनजंगलमा थुप्रिएका छन् । एउटाले सेवन गरेको, अर्कोले बेचेर पैसा कमाएको मदिराको खाली बोतलबाट निर्दोष किसान पीडित हुनु परेको छ ।

पर्यटन पदमार्गका बस्तीमा मात्र नभइ जिल्लाका अधिकांश बस्तीमा मदिराका सिसाजन्य बोतल व्यवस्थापन हुन नसक्दा समस्याको रुपमा देखिएको छ । गाउँगाउँ पुर्‍याइएका यस्ता सिसाका बोतल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोतल फुटेर दुर्घटना मात्र निम्त्याएको छैन, पुरै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोतल यत्रतत्र थुप्रिदा किसानलाई समस्या भइरहेको छ ।

नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहोर व्यवस्थापनको उपाय अपनाइएको छैन । साथै मदिरा उत्पादक कम्पनीले नै यस्ता खाली सिसा फिर्ता लैजानु पर्ने हो तर वास्ता गरिएको छैन । सडक सञ्जाल जोडिएसँगै दुर्गम भेगका बस्तीहरुमा अझ बढी मदिराजन्य, चिसो पेयपदार्थजन्य सिसाका खाली बोतलको थुप्रो लागेको छ। पर्यटकीय बस्तीका व्यवसायीले भने सिसाका खाली बोतल खाल्डोमा पुर्दै आएका छन् ।

‘मदिराजन्य सिसाका खाली बोतलहरु पर्यटकीय क्षेत्रका लागि समस्या भएका छन् । यस्ता बोतलहरु फिर्ता लैजाने कोही नभएकोले हामीले खाल्डो खनेर गाड्ने गरेका छौँ,’ स्थानीय पर्यटन व्यवसायी देवेन्द्र गर्बुजाले भने, ‘अब चाहिँ सिसाको बोतल फिर्ता लैजाने कम्पनीको मात्रै मदिरा बेच्नेबारे हामीले समुदायमा छलफल गरिरहेका छौँ ।’ पर्यटनको एक सिजनमा एउटा होटलबाट एक ट्याक्टरभन्दा बढी सिसाको बोतल निस्कने उनको भनाइ छ ।

बस्तीभन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र बेस क्याम्पमा पनि यस्ता सिसाका बोतलहरु थुप्रिदा समस्या बढ्दै गएको छ । यत्रतत्र छरिएका सिसाका बोतल र क्यानले बेस क्याम्प क्षेत्रमा फोहोर बढेको छ । यसको व्यवस्थापनमा अझैसम्म जिम्मेवार निकायले चासो दिएको देखिँदैन । साथै, पदमार्गमा आउने अधिकांश पर्यटकले समेत आफूले ल्याएको सिसाका बोतल सुरक्षित रुपमा व्यवस्थापन नगरी जथाभावी फाल्ने गरेका छन् । पर्यटकी क्षेत्र तथा गाउँघरमा सिसाका बोतल व्यवस्थापनमा चुनौती थपिएको छ । 


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement