तार व्यवस्थापनमा कसैले तत्परता नदेखाएपछि मेयर बालेन्द्रले भने- अब आफ्नै तरिकाले काम गर्छौं

वैशाख २२, २०८० |कान्तिपुर टीभी संवाददाता
तार व्यवस्थापनमा कसैले तत्परता नदेखाएपछि मेयर बालेन्द्रले भने- अब आफ्नै तरिकाले काम गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौंका पोलमा भएका जथाभाबी तार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई चेतावनी दिएका छन् ।

नगर प्रमुख शाहले आफ्नो फेसबुकमार्फत तार व्यवस्थापनका लागि लामो समयदेखि समन्वयात्मक रूपमा अघि बढ्न खोज्दा सहयोग नभएको उल्लेख गरेका छन् । उनले सुन्दर र व्यवस्थित सहर निर्माणका लागि महानगर तत्पर रहेकाले अब आफ्नै तरिकाले तार व्यवस्थापन गर्ने जनाएका हुन् । 

काठमाडौं महानगरपालिकाले वैशाख १२ गते नै १५ दिने सूचना जारी गरी सेवा प्रदायक कम्पनी र नियामक कार्यालयहरूलाई तार व्यवस्थापनमा समन्वय गर्न आग्रह गरेको थियो । तर सार्वजनिक सूचना र पत्राचार गरेकै ११ दिन बितिसक्दा पनि कसैले समन्वयात्मक भूमिकाका लागि तत्परता नदेखाएको भन्दै मेयर बालेन आफ्नै तरिकाले तार व्यवस्थापन गर्ने बताएका हुन् । यसमा पर्न गएको असुविधाका लागि महानगरले खेद प्रकट गर्नेसमेत जनाएका छन् । 

सार्वजनिक सूचना जारी भएपश्चात् नेपाल टेलिकमले स्थानीय तहले जथाभाबी तार काटिँदा सेवामा अवरुद्ध हुने भन्दै सूचना प्रविधि मन्त्रालय गुहारेको थियो । सूचना प्रविधि मन्त्रालयले संघिय मामिला मन्त्रालयलाई स्थानीय तहसँग समन्वय गर्न तयार रहेको तर तत्काल जथाभाबी तार नकाटी दिन भन्दै पत्राचार गरेको थियो । वैशाख १७ गते संघिय मामिला मन्त्रालयले स्थानीय तहलाई जथाभाबी तार नकाट्न आदेश दिएको थियो ।

काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, केबुल प्रसारक संघ , सीसीटीभी क्यामेरा तथा सञ्चार प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायतलाई पनि अनावश्यक तार हटाउन समन्वय गरिदिन आग्रह गरेको थियो । तर कसैले तत्परता नदेखाएपछि, सार्वजनिक सूचना जारी गरेको ११ दिनमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाले सामाजिक सञ्जालमार्फत पुन: ताकेता गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement