
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका नेता तथा उच्च पदस्थ कर्मचारीसमेत अनुसन्धानमा तानिएपछि राजनीति नै तरङ्गित भएको छ ।
नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीलाई पनि प्रहरीले पक्राउको सूचीमा राखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री दाहालसँग रायमाझीको विषयमा कुरा गर्न ओली बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । दाहालसँगको भेटपछि बाहिरिने क्रममा ओलीले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने प्रतिक्रिया दिए । तर, पटक–पटक मन्त्री भइसकेका र बहालवाला सांसद रहेका रायमाझीलाई बाटो बाटैबाट समात्नुपर्ने कारण नभएको ओलीले बताएका थिए । उनले प्रधानमन्त्रीसँगको भेटमा रायमाझीमाथि षड्यन्त्र भएको भन्दै ध्यानाकर्षण पनि गराए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी गृह जिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भई बुधबार नै काठमाडौँ हिँडेको बताइएको छ । तर उनी अहिले कहाँ छन् भन्ने पत्ता लागेको छैन । यही प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ । यस प्रकरणमा अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको र थप १० जनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा १० देखि ५० लाख रुपैयाँसम्म लिएको भन्दै २० वटा उजुरी परेको छ । गिरोहलाई सघाएको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
थप केही सरकारी अधिकारी र राजनीतिक नेताहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार...