गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

तस्बिर : भूकम्पले भत्काएको धरहरा र आसपासका घरहरुमा पुगेको क्षति

काठमाडौं । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो ।

आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रबिन्दु बारपाकमासमेत स्मृति दिवस कार्यक्रम हुँदैछन् ।

बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा भूकम्प स्मृति समारोह आयोजना हुन लागेको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सहरी विकासमन्त्री सीता गुरुङलगायत सरकारी अधिकारीहरूको सहभागिता हुने जनाइएको छ ।

भूकम्प र ज्यान गुमाएकाहरूको स्मृतिमा निर्माण गरिएको स्मृति उद्यानको काम पूरा नभएको र पहिरोले क्षतिको जोखिम बढाएकाले आज उक्त विषयमासमेत मन्त्रीसँग छलफल र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट हुने क्षति न्यूनीकरणका विषयमा दुईदिने कार्यशाला आयोजना गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु बारपाक काठमाडौँबाट ८० किलोमिटर उत्तर–पश्चिममा पर्छ । यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।

यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो । उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो ।

भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२ : ३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ दशमलब ६ रेक्टरस्केलको कडा परकम्पन गएको थियो । भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए । पुनश्चः वैशाख १३ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ९ रेक्टरस्केलको परकम्पले गोरखाबाट सिन्धुपालचोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा अकल्पनीय विनास गर्‍यो ।

भूकम्प र त्यसपछिका ठूला पराकम्पनसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौँ परकम्पन एवं हजारौँको सङ्ख्यामा अरु स–साना परकम्पनले नेपालको मध्यभागलाई कम्पित र त्रसित तुल्याएको थियो । त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो । मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो । त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ ।

यस्तो थियो क्षति

विसं २०७२ को भूकम्पले १९९० पछिकै बढी क्षति गराएको गृह मन्त्रालयले जनाएको छ । त्यो भूकम्पबाट आठ हजार नौ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयले तथ्यांक छ । मृत्यु भएका मध्ये ९८ दशमलब सात प्रतिशत अतिप्रभावित जिल्लाका नागरिकहरू छन् ।

५६ प्रतिशत महिला परेका छन् । एक सय ९५ जना बेपत्ता रहे । उक्त भूकम्पमा २२ हजार तीन सय दुई जना घाइते भएको तथ्यांकमा उल्लेख छ । कुल आठ लाख बढी निजी आवास, आठ हजार जति विद्यालय, करिब नौ सय २० ऐतिहासिक सम्पदासहित अस्पताल, सरकारी घर/भवन र निजी घर भत्किँदा करिब सात खर्ब छ अर्ब रुपैयाँ बराबरको क्षति भएको तथ्यांक छ ।

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी त्यसमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य करिब–करिब सकेको थियो । बाँकी भएका काम सम्बन्धित मन्त्रालयलाई जिम्मा दिएर प्राधिकरण गएको थियो । भूकम्प हरेक वर्ष गइरहन्छ तर महसुस नगरेका चार म्याग्निच्युटभन्दा तलका भूकम्पको विवरण सार्वजनिक हुने गरेको छैन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement