कर्मचारीको मिलेमतोमा तिब्बती शरणार्थीलाई नेपाली नागरिकता, ५ सयभन्दा बढी नागरिकतामाथि अनुसन्धान

चैत्र २०, २०७९ |रमेश धमला
कर्मचारीको मिलेमतोमा तिब्बती शरणार्थीलाई नेपाली नागरिकता, ५ सयभन्दा बढी नागरिकतामाथि अनुसन्धान

काठमाडौं । नेपालमा शरणार्थीसम्बन्धी कानुन नै छैन । कानुन नभए पनि भुटानी र तिब्बती शरणार्थीले मानवीय सहायताका हिसाबले नेपालमा आश्रय लिइरहेका छन् । तिब्बती शरणार्थीको विषय नेपालको आन्तरिक सुरक्षासँग समेत जोडिँदै आएको छ । नेपालमा आश्रय लिएर बसेका तिनै तिब्बतीलाई अवैध रुपमा नेपालको नागरिकता बनाइदिने गिरोह नै सक्रिय भएको खुलेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नक्कली अभिभावक खडा गरेर नागरिकता बनाइदिने गरेको खुलेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नक्कली अभिभावक खडा गरेर तिब्बती शरणार्थीलाई नागरिकता दिइएको तथ्य खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीकै मिलेमतो तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिइएको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय स्रोतबाट प्राप्त विवरणअनुसार गत पुस १२ गते एकै दिन यशोदा शेर्पा र नाम्से शेर्पाको नाममा काठमाडौंलाई स्थायी ठेगाना उल्लेख गरेर दुइटा नागरिकता जारी भएको छ । जसका अभिभावक नक्कली छन् । नागरिकतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत लेखनाथ खतिवडाको हस्ताक्षर छ । दुवै नागरिकतामा बाबुको नाम मिङछुङ शेर्पा उल्लेख छ । तर मिङछुङ बन्ने व्यक्ति वास्तवमा न्युल्केश श्रेष्ठ हुन् । न्युल्केशलाई अभिभावक मानेर नागरिकता बनाइएका दुवैजना तिब्बती नागरिक भएको स्रोतको दाबी छ ।

यीबाहेक शोनाम छाडेन र टासी शेर्पाको नाममा पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै नेपाली नागरिकता बनेको छ । यी दुवै तिब्बती हुन् । यिनका बाबु पनि उनै न्युल्केस बनेका छन् । तनहुँको दुलेगौंडास्थित तिब्बती शरणार्थी शिविरमा बस्दै आएका लोब्साङ ठिन्लेले पनि काठमाडौंबाटै नेपाली नागरिकता लिएका छन् ।

२०५२ देखियता जारी भएका शंकास्पद ३० नागरिकतामाथि अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा देवराज गौतम र प्रशासन कार्यालयकै चमेनागृहमा ९ वर्षदेखि काम गरिहेका विजय लामालाई पक्राउ गरिसकेको छ । हस्ताक्षर गर्ने प्रशासकीय अधिकृतको भूमिकामाथि अनुसन्धान भइरहेको छ ।

यसरी तिब्बतीलाई नागरिकता बनाइदिने मुख्य व्यक्ति कृष्ण कटवाल हुन् । कटवालले नै न्युल्केश श्रेठलाई मिङछुङ शेर्पाको नागरिकता बनाइदिएको भेटिएको छ । प्रहरीका अनुसार नक्कली नागरिकता बनाउने यो समूहले एकजना तिब्बतीलाई नेपाली नागरिकता दिलाइदिए बापत पाँच लाख रुपैयाँ लिएको छ । यसरी देशैभरबाट पाँच सयभन्दा बढी नागरिकता जारी भएको प्रहरीको आशंका छ ।

नेपालमा करिब १० हजार तिब्बती शरणार्थी रहेको भनिए पनि सरकारले त्यसको एकिन विवरण संकलन गरेको छैन । तिब्बती शरणार्थीलाई चीनले सुरक्षा चासोको रुपमा लिइरहँदा नेपालका लागि संवेदनशील विषय हो । नेपाली नागरिकता लिएका तिब्बतीहरुले नागरिकताका आधारमा राहदानी बनाएर प्रयोग गरेका छन् कि छैनन् ? अर्को अनुसन्धानको विषय बनेको छ । जुन मुलुकको राष्ट्रिय सुरक्षाका हिसाबले पनि गम्भीर देखिन्छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement