न्याय सम्पादन गर्दा पूर्वाग्रह राख्नु हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

चैत्र १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
न्याय सम्पादन गर्दा पूर्वाग्रह राख्नु हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने जनाएका छन् ।

काठमाडौं महानगरको कार्यक्रममा बिहीबार उनले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्ने बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने धारणा राखे । उनले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए न्याय पूर्वाग्रही हुने जनाए । उनले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि धारणा राखे । न्याय दिनका लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने उनको भनाइ छ ।

उनले स्थानीय जनप्रतिनिधिहरुले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसाबबाट सोच्न जरुरी रहेको जनाए ।

‘स्थानीय जनप्रतिनिधिहरुको भूमिका न्यायिक समितिको एउटा न्यायाधीश मात्रै नभएर तपाईंहरुको भूमिका जनप्रतिनिधिको हुनुपर्छ । त्यसैले जनप्रतिनिधिहरुको भूमिकाबाट पनि न्याय नै फैसला नै गर्नुपर्‍यो भने फेरि जनप्रतिनिधि हुँ भन्ने बिर्सिनुपर्छ । म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्ने कुरा बिर्सिनुपर्छ,’ उनले भने, ‘यदि म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्ने दिमागमा राखेर, मनमा राखेर फैसला गर्नुभयो भने न्याय पर्दैन । त्यहाँ पूर्वाग्रह हुन्छ । जहाँ पूर्वाग्रह हुन्छ त्यहाँ न्याय हुँदैन । न्याय पर्नको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्छ । त्यसैले को केबाट भए, विवाद गर्न आउने मान्छे को हो ? भन्न थाल्यौँ भने त हामीले न्याय गर्दैनौँ । अनि न्यायिक अधिकार दिएको त त्यसै खेर जान्छ । न्याय गर्न बस्दा त्यो सम्पूर्ण कुरा बिर्सिनुपर्छ ।’

कामु प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने जनाए । न्यायिक समितिले फैसला गर्ने कुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने उनको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.