चैती छठको मुख्य दिन : व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिए (तस्बिरसहित)

चैत्र १३, २०७९ |माधुरी महतो
चैती छठको मुख्य दिन : व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिए (तस्बिरसहित)

वीरगन्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा संस्कृतिका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज सोमबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिएका छन् ।

चैत शुक्ल पक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ । जसलाई सँझिया घाटे पनि भनिन्छ । छठको मुख्य दिन सोमबार साँझ व्रतालु मालाहरूले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिँदै छन् ।

वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा , छपकैयालगायतका स्थानमा रहेका छठघाटहरुमा सोमबार साँझ सूर्य भगवान् र छठीमातालाइ अर्घ दिन व्रतालुहरूको भिड लाग्छ ।

सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि सूर्य भगवान् र छठी मातालाई अर्घ दिने गरिन्छ ।

छठ पर्वको अन्तिम दिन अर्थात् सप्तमी तिथिका दिन (मंगलबार) बिहान व्रतालुहरूले फेरि छठ घाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा समापन हुन्छ । 

चैती छठ पर्व गत शनिबारदेखि विधीवत रूपमा सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरी वर्षमा दुई पटक मनाउने गरिन्छ । 

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास पनि रही आएको छ ।

यो पनि...

मनाइँदै चैते छठ (तस्बिरसहित)


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।