मनाइँदै चैते छठ (तस्बिरसहित)

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
मनाइँदै चैते छठ (तस्बिरसहित)

काठमाडौं । चैते दसैंको छैटौं दिन मिथिलाञ्चलमा आज (सोमबार) चैती छठ पर्व मनाइँदै छ । छठअन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरुले आज अर्घ्य अर्पण गर्छन् । गत शुक्रबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ ।

मंगलबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ ।

कात्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व मनाउनेको संख्या पनि बढ्दै गएको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुले निराहार उपवास बसी साँझपख षष्ठी देवीलाई प्रसाद चढाएर खाने गर्छन् । प्रसादमा खिर ,केरा, दूध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।

पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुले साँझ सूर्य अस्ताउने प्रतीक्षा गर्छन् । त्यस क्रममा सूर्य अस्ताउनु १ घण्टा पूर्वदेखि नै व्रतालु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्छन् ।

अर्घ्यमा मुला, उखु, भान्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायत सामग्री चढाउने गरिन्छ । सन्ध्या अर्घ्यपश्चात रातभर व्रतालुहरु जाग्रम बसेर भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.