मिटरब्याजीविरुद्ध खुलामञ्चमा प्रदर्शन

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
मिटरब्याजीविरुद्ध खुलामञ्चमा प्रदर्शन

काठमाडौं । ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडितले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् ।

११ दिनसम्म तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडितले खुलामञ्च गेटअगाडि प्रदर्शन गरेका हुन् । पीडितहरु खुलामञ्चमा बस्नका लागि आए पनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएको छ ।

खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै गेटमै धर्नामा बसेका छन् । पीडितहरुले महानगर पालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

मिटरब्याजीपीडितहरुले खुलामञ्चमा विरोध कार्यक्रम गर्न मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि नदिएको उनीहरुले जनाएका छन् । पीडितहरुले मेयर साहले स्वागत गर्ने आशामा काठमाडौं आएको तर प्रदर्शनमा समेत रोक लगाएको भन्दै नाराबाजी गरे ।

पीडितहरु महानगरले खुलामञ्च प्रवेश गर्न नदिँदा वीर अस्पतालअगाडिको सडकमै बसेर नाराबाजी गरे । पीडितले बालेन साह मुर्दावाद, मिटर ब्याजीलाई कारबाही गर्, हाम्रो पैसा फिर्ता गर, पीडितलाई न्याय दे, मिटरब्याजीको सम्पत्ति छानबिन गरजस्ता नारासमेत लगाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.