बिग्रिएर थन्किएका एम्बुलेन्सको मर्मत नहुँदा बिरामी मर्कामा (भिडियो रिपोर्ट)

चैत्र १३, २०७९ |कमला पाख्रिन
बिग्रिएर थन्किएका एम्बुलेन्सको मर्मत नहुँदा बिरामी मर्कामा (भिडियो रिपोर्ट)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको १२ स्थानीय तहका स्वास्थ्य इकाई र अस्पतालसँग एम्बुलेन्स छ । तर, सबै सञ्चालनमा छैनन् । उपकरणमा समस्या आएका एम्बुलेन्स समयमै मर्मत नहुँदा बिग्रिएर थन्किएको छ । बिरामी अस्पताल पुर्‍याउन अतिआवश्यक रहेको सरकारी अस्पतालका आधा दर्जनभन्दा बढी एम्बुलेन्स समयमै मर्मत नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

भोटेकोशी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको वर्ष दिन बितिसक्यो । इन्जिन समस्याका कारण थन्किएको एम्बुलेन्स मर्मत गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सकिन्छ । तर गाउँपालिकाको आँगनमा थन्किएर बसेको एम्बुलेन्स मर्मत नगरेपछि भोटेकोशीका बिरामी एम्बुलेन्स सेवाबाट बञ्चित छन् । एम्बुलेन्स अभावका कारण बिरामीलाई निजी सवारी साधनमा महंगो भाडा तिरेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।

त्यस्तै बाह्रबिसे र चाकुमा थन्किएर बसेका दुई वटा एम्बुलेन्स मर्मतमा नगरपालिकाले ध्यान दिएकै छैन । अस्पतालको गेटमै एम्बुलेन्स थन्किएको छ । सरकारी एम्बुलेन्स बिग्रिएका कारण बिरामी चर्को मूल्य तिरेर भाडाको गाडी प्रयोग गर्न बाध्य छन् ।

भोटेकोशी र बाह्रबिसेमा मात्र होइन, इन्द्रावती, मेलम्ची र हेलम्बु गाउँपालिकाको एम्बुलेन्स पनि मर्मत नगर्दा थन्किएका छन् । स्वास्थ्य कार्यालयमा ४० दर्तामा रहेको छ । जसमध्ये सात वटा एम्बुलेन्स कामै नलाग्ने गरी महिनौँ दिनदेखि बिग्रिएर थन्किएको अवस्थामा छन् । जसको मार सर्वसाधारणले खेपिरहेको छन् ।

स्वास्थ्य उपचार सरकारको पहिलो प्राथामिकतामा परेपनि उपकरणको अवस्था नाजुक छ । एक सय ३ वटा वडा रहेको सिन्धुपाल्चोकमा एम्बुलेन्स सेवा पर्यप्त छैन । त्यसमा पनि सवारी मर्मततर्फ सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्राहीले सधैँ सास्ती भोग्नु परेको छ । 


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।