अन्नपूर्ण आरोहण गर्न कतारी राजकुमारी आश्मा अल थानी म्याग्दीमा

फाल्गुन २२, २०७९ |घनश्याम खड्का
अन्नपूर्ण आरोहण गर्न कतारी राजकुमारी आश्मा अल थानी म्याग्दीमा

म्याग्दी । कतारी राजकुमारी आस्मा विन्त थानी अल थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित संसारको सर्वाधिक ६ हजार ९ सय ६७ मिटर गहिरो अन्धगल्छीमा पर्ने दाना गाउँ पुगेकी छन् ।

सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिलाको कीर्तिमान राखेकी कतारी राजकुमारी थानी सोमबार बिहान ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्न जानेक्रममा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जासँगै दाना गाउँ पुगेकी हुन् । ‘म कतारी राजकुमारी अस्मा थानीसँगै अन्नपूर्ण हिमाल आरोहणमा जाने सेडुल मिलाएर जन्मस्थल आएको छु । एक-दुई दिन यहीं बस्छु, बाल्यकालमा खेलेका आँगन, बाटो र गाउँ डुल्छु । आफन्त भेट्छु,’ जन्मस्थलमा पाएको स्वागत सत्कारले प्रफुल्ल बनेका आरोही पुर्जाले भने, ‘जन्मथलोको ज्ञानप्रकाश माध्यामिक विद्यालयलाई दिगो रुपमा सहयोग पुग्ने गरी अक्षयकोष राख्न चाहन्छु । जुन कुरा हामी बसेर भोलिसम्म टुंगो गर्छौं ।’

दाना कीर्तिमानी आरोही पुर्जाको जन्मस्थल हो । राजकुमारी थानी आरोही निर्मल पुर्जाको जन्मघर पुगेर अवलोकन गर्नुका साथै केही बेर विश्राम गरेकी थिइन् । राजकुमारी थानी र पुर्जाद्वय मौरिस हर्जोग पदमार्ग पछ्याउँदै बुधबार बिहान हेलिकोप्टरबाटै अन्नपूर्ण दक्षिण बेस क्याम्प जाने कार्यक्रम छ ।

हेलिकोप्टरबाट ओर्लिएपछि कतारी राजकुमारी थानी र कीर्तिमानी आरोही निर्मल पुर्जालाई जन्मथालोमा बाजागाजासहित फूलमालाले भव्य स्वागत गरिएको थियो । ‘हाम्रा छोरा-भतिजसमेत रहेका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा र पाहुना कतारी राजकुमारी आस्मा अलथानीलाई स्वागत गर्‍यौं । साँझ वडा कार्यालयमा आरोही पुर्जाले आफ्नै जीवनी र हिमाल आरोहणसँग सम्बन्धित भिडियो डकुमेन्ट्री देखाउने योजना छ,’ अन्नपूर्ण गाउँपालिका ३ का वडाध्यक्ष रमेश पुर्जाले भने, ‘भोलि विद्यालयमा ३५-४० लाखको अक्षयकोष राख्ने योजना छ । पर्सि बिदाइ गर्छौं ।’

सन् २०१९ अप्रिलमा अन्नपूर्ण आरोहण गरी ‘प्रोजेक्ट पोसिबल १४/७’ अभियान सुरु गरेका निर्मल पुर्जाले २९ अक्टोaर २०१९ को बिहान स्थानीय समयअनुसार ८:५८ बजे चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमाल आरोहण गरी निर्मल पुर्जा ‘निम्स’ले विश्व रेकर्ड तोडेका थिए । पुर्जाले संसारका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल १ सय ८९ दिन (६ महिना ६ दिन) भित्र आरोहण गरी कोरियाका पर्वतारोही किम च्याङ होको नाममा रहेको ७ वर्ष १० महिना ६ दिनको रेकर्ड तोडेका हुन् । पुर्जाका नाममा अहिले पनि आधा दर्जनबढी गिनिज बुकमा वर्ल्ड रेकर्ड कायम छन् ।

बाबु नन्दबहादुर र आमा पूर्णकुमारी पुर्जाको चार छोरा, एक छोरीमध्ये कान्छा हुन् । दुई वर्षको उमेरमा भारतीय सेनाका लाहुरे बाबुसँगै चितवनको रत्ननगर बसाइँ सरेका पुर्जाले नारायणघाटस्थित स्मल हेभेन स्कुलबाट एसएलसी उत्तीर्ण गरेका हुन् । निर्मलका दाइ जेठा गंगा र साइँला कमल पुर्जा पनि बेलायती सेनाका लाहुरे हुन् । माइला दाइ जित पुर्जा भने पुर्ख्यौली थलो, दानाको ज्ञानप्रकाश माविमा शिक्षक छन् । दिदी अनिता अस्ट्रेलियामा चिकित्सक छिन् । श्रीमती सूची पुर्जा बेलायतमै बसोबास गर्छिन् भने निर्मल सेवा निवृत्त भएपछि आमाबाबुसँग चितवनको रत्ननगरमै बस्छन् ।

क्याप्सन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, दानामा रहेको कीर्तीमानी आरोही निर्मल पुर्जाको जन्मस्थलमा कतारी राजकुमारी आस्मा विन्त थानी अल थानी र आरोही पुर्जा स्थानीय बासिन्दाका साथमा । तस्बिर : कान्तिपुर टीभी


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement