बाजुरा भूकम्प : ५८ घरमा क्षति, एकको मृत्यु, तीन घाइते

माघ ११, २०७९ |प्रेम रौले
बाजुरा भूकम्प : ५८ घरमा क्षति, एकको मृत्यु, तीन घाइते

बाजुरा । भूकम्पले बाजुरामा मानवीयका साथै ठूलो भौतिक क्षति गरेको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु बनाएर आएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पले सरकारी र स्थानीयका गरी ५८ वटा घरमा क्षति पुगेको छ । केही घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने केहीमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ढुङ्गा र माटोबाट बनेका स्थानीयका केही घर चर्किएर बस्नै नमिल्ने भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

भूकम्पपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण संकलन पठाइएको थियो ।

प्राप्त विवरणअनुसार मंगरबार राति १० बजेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्यांक संकलन भएको उनले बताए ।

एक जनाको मृत्यु

भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

गौमुल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाउँदा भिरबाट ढुङ्गा खसेर टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

मृतक रोकायाको पोष्टमार्टमका लागि बुधबार जिल्ला अस्पताल बाजुरा लगिँदैछ ।

यसका साथै भूकम्पका कारण जिल्लामा तीन जना घाइते भएका छन् । घाइते भएका तीन जनामध्ये दुईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा गौमुल गाउँपालिका–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका–२ की चन्द्र महत र हुम्ला जिल्ला घर भइ हिमाली गाउँपालिका–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । महत भने उपचारपछि घर फर्किएका छन्।

५० भेडा मरे

भूकम्पका कारण वनमा चराउन लगिएका ५० वटा भेडा चट्टान फुट्दा च्यापिएर मरेका छन् ।

गौमुल गाउँपालिका–१ अम्लिसका राजदल बोहराका ५० वटा भेडा भूकम्पले भिरको चट्टान फुट्दा च्यापिर मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

राहत वितरण र उद्धारमा ढिलाइ

भूकम्पले क्षति पुगेका स्थानका पीडितलाई राहत वितरणमा ढिलाइ भएको छ । पीडित परिवारले छिमेकीको घरमा शरण लिएर बसेका छन् ।

भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण नआएका कारण राहत वितरणमा ढिलाइ भएको हो । पीडितहरुलाई स्थानीय सरकारले तत्काल राहत वितरण गर्न सकेको छैन ।

यसैगरी भूकम्पमा परेर घाइते भएकाहरुको उद्धारमा कठिनाइ भएको छ । मौसम बदलीसंगै वर्षा हुन थालेको र हिमपात नरोकिएपछि घाइते र पूर्ण रुपमा घर क्षति भएकाहरुको उद्धार कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले समेत उद्धार तथा राहत कार्य अगाडि बढाएको छैन । प्रमख जिल्ला अधिकारी पुष्कर खड्काले भने बडीमालिका नगरपालिकाका ५ परिवारलाई तत्काल कम्बल वितरण गरेको जानकारी दिएका छन् ।

राहत र उद्धारका लागि गौमुल गाउँपालिकामा समस्या भएकाले यस सम्बन्धमा छलफल गर्न जिल्ला दैवी प्रकोप समितिको बुधबार बिहान बैठक बस्न लागेको प्रजिअ खड्काले जानकारी दिए ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।