सीमामा देखिएको समस्या समाधान गर्न नेपाल-भारतबीच छलफल

मंसिर १९, २०७९ |मनोज बडू
सीमामा देखिएको समस्या समाधान गर्न नेपाल-भारतबीच छलफल

दार्चुला । दार्चुला सदरमुकाम सीमा क्षेत्रमा आइतबार समस्या देखिएपछि नेपाल र भारतका अधिकारीबीच सोमबार छलफल भएको छ । सीमामा भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुई देशका अधिकारीबीच सोमबार दिउँसो छलफल भएको हो ।

आइतबार दुवै देशका नागरिकबीच तटबन्धको विषयलाई लिएर ढुंगामुढा भएको थियो । ढुंगामुढा प्रहार भएपछि दुवै देशका ६ जना घाइते भएका थिए । यस विषयमा केन्द्रित रहेर अधिकारीहरुबीच छलफल भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

छलफलमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानि-नोक्सान हुने गरी काम नगर्न आग्रह गरेका छन् । भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा ७ देखी १० मिटरयता नेपालतिर ग्याबिन जाली लगाएको छ । नेपाली पक्षले सो ग्याबिन जाली तत्काल हटाउन आग्रह गरेका छन् ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय बासिन्दा आक्रोशित भए हुन् । स्थानीय बासिन्दाले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।