चुरे र महाभारत क्षेत्रको वन अतिक्रमण बढ्दो

असार २५, २०७९
चुरे र महाभारत क्षेत्रको वन अतिक्रमण बढ्दो

चुरे र महाभारत क्षेत्रको वनलाई नेपालको सबैभन्दा ठूलो धन मानिन्छ । यी क्षेत्रको वन संरक्षण गर्ने प्रतिबद्धता सरकारले गर्दै आएको छ । तर चुरे र महाभारत क्षेत्रको वन संरक्षण हुनुको साटो दिनदिनै अतिक्रमण र फडानी भइरहेको छ । नियन्त्रण गर्ने काम प्रभावकारी हुन सकेको छैन ।

गत वर्ष डडेल्धुराको परशुराम क्षेत्रमा राउटेहरुले चुरे क्षेत्रमा घना जंगल फडानी गरी नयाा बस्ती नै बसाले । यो मात्र होइन, पछिल्ला वर्षहरुमा पश्चिम पहाडको महाभारत क्षेत्रमा वन फडानी गरेर नयाँनयाँ वस्ती बस्न थालेका छन् । महाभारत क्षेत्रमा मात्र नभएर चुरे वनको अतिक्रमण पनि उत्तिकै छ । 

मध्यपहाडि क्षेत्रका लागि पानी मुहान क्षेत्र नै रहेको महाभारतको वन फडानीले दीर्घकालमा ठूलो समस्या निम्त्याउन सक्ने संरक्षणविद्हरुको बुझाई छ । पछिल्लो समयमा सरकारले जग्गाधनी पुर्जा दिने निर्णय गरेपछि जंगल क्षेत्रका स्थानीय धमाधम जंगल फडानी गदैं महाभारत क्षेत्र नोक्सान गर्न थालेका छन् । उपभोक्ता समितिका पदाधिकारीकै मिलेमतोमा केही स्थानमा सुकुम्वासीका नाममा समेत फडानी भइरहेको छ । तर नियमनकारी निकाय सुस्त छ । 

६ लाख ८७ हजार ४ सय हेक्टर वन क्षेत्र रहेको सुदूरपश्चिममा ४५ हजार हेक्टर अतिक्रमण भइसकेको वन कार्यालयकै तथ्यांक छ । उपभोक्ता समितिका पदाधिकारी, वन कर्मचारी र तस्करको मिलेमतोमा लामो समयदेखि अतिक्रमण भइरहेको चुरे र महाभारत क्षेत्रको संरक्षणमा थप पहल गर्नु आवश्यक भइसकेको छ ।