नेपाल क्रिकेट संघ क्यानले मलेसियामा असार ३ गतेदेखि हुने एसीसी महिला टि–टवेन्टी च्याम्पियनसिपका लागि १९ जना खेलाडीको नाम सार्वजनिक गर्यो । तर सूचीमा उदयीमान खेलाडी हिरनमाही रोयको नाम थिएन । हिरनमाही टिममा नपरेको विषयले समर्थक माझ निकै चर्चा पायो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १५ वर्षीया उनले क्षमतावान लेग स्पिनरका रुपमा प्रमाणित गरेकी थिइन् । तर विदेशी भूमिमा गएर क्षमता प्रदर्शन गर्ने बेलामा उनको आवश्यक पर्ने कागजात बनेन ।
नेपालले जेठको सुरुमै घरेलु मैदानमा पहिलो पटक टि–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज खेल्यो । युगान्डासँग तीन–दुईले सिरिज हारे पनि नेपाली टोलीमा एक क्षमतावान खेलाडीको उदय भयो । उनी थिइन्, हिरनमाही रोय । नेपाली राष्ट्रिय टिममा उनले १५ बर्षकै उमेरमा डेब्यु गरेकी हुन् । तर, विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोटका लागि अन्डर नाइन्टिन टिम मलेसिया जाँदा हिरनमाही टिममा परिनन् । नेपाली सिनियर महिला टिम एसिया कप छनोट खेल्ने तयारीमा छ । त्यसमा पनि हिरनमायी अटाउन सकिनन् । कारण आवश्यक कागजपत्र नभएर ट्राभल डकुमेन्ट बन्न नसकेपछि उनी टिममा नपरेकी हुन् । राष्ट्रिय टोलीका लागि खेलिसकेकी रोयले नेपालको नागरिक हो भन्ने आधिकारीकताको प्रमाण पुर्याउन सकिनन् ।
त्यसो त खेलाडीले नागरिकता नपाएको, कागजपत्र नहुँदा विदेश यात्रा गर्न नसकेको विषय नेपाली क्रिकेटमा नौलो होइन । सरद भेषावकर, साहव आलम, अप्सरी बेगमलगायतका धेरै खेलाडी यो पीडाबाट गुज्रिसकेका छन् । विश्व क्रिकेटमा एक देशको खेलाडीले अर्कै देशमा खेल्ने नियम आइसकेको छ । तर हिरनमाही भने झापाबाट काठमाडौं आएकी हुन् । उनको परिवार झापाको दमकमा बस्छ । तर, उनका बुबा विरेन राय र आमा अनिमा रायसँग नेपाली नागरिकता नै छैन ।
नेपाल क्रिकेट संघ क्यानले हिरनमायीको आवश्यक काजजातका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपबाट परराष्ट्र मन्त्रालयमा सिफारिस गरिसकेको छ । उनी कलिलै उमेरमा नेपाली टिममा सशक्त डेब्यु गरेकी खेलाडी हुन् । युगान्डासँगको सिरिज खेल्न काठमाडौं आउँदा उनको एसईइ परीक्षासमेत छुट्यो । अस्ट्रेलियन लिग बिग बास खेल्ने लक्ष्यसहित अघि बढेकी हिरनमाहीको पाइला यहीँ नरोकियोस्।