झण्डै ६ महिनादेखि आन्तरिक पर्यटकका कारण लयमा फर्किएको नेपालको पर्यटन व्यवसाय कोरोनाको तेस्रो लहरले पुन खलबलिएको छ । संक्रमणको ग्राफले दिनदिनै नयाँ रेकर्ड कायम गर्दा विदेशी पर्यटकले मात्र नभई स्वदेशमै तय भएका कार्यक्रम पनि धमाधम रद्ध भएका छन् । यसबाट पर्यटन क्षेत्रमा आवद्ध करिव १५ लाख श्रमिक प्रत्यक्ष प्रभावित भएका छन् ।
पुस महिनासम्म पहुनाले भरिएका काठमाडौंसहित देशका मुख्य शहरका होटल अहिले खाली छन् । सरकारले कोरोना प्रकोप बढेको भन्दै घुमघाम र भिडभाड गर्न कडाई गरेसंगै पर्यटन क्षेत्रमा पनि सन्नाटा छाएको हो । दुई वर्षदेखि विदेशी पर्यटक आवागमन सुस्ताएपनि आन्तरिक पर्यटनले जेनतेन चलेको व्यवसायमा फेरि समस्या देखिएको छ । जसका कारण करिव १५ लाख श्रमिक प्रत्यक्ष प्रभावित भएका छन् ।
एक सातायता रात्रीकालिन व्यवसाय बन्द छ । जसको मारमा व्यवसायी मात्र होइन श्रमिक पनि परेका छन् । अक्टोवरदेखि मार्चसम्म पर्यटक बढि आउने गरेको भएपनि कोरोना कै कारण गत वर्ष र यो वर्ष व्यवसायीहरुले त्यो अवसरको फाइदा लिन पाएनन् । पर्यटन विभागका अनुसार अहिले देशभर पाँच तारेसहित पर्यटकस्तरका ६ सय ६१ होटलमा ५५ हजार कोठा छन् । होटल व्यवसायमा करिव १५ खर्बको लगानी छ । पर्यटनले प्रभावित भएको होटल र पर्यटन क्षेत्रलाई उकास्नकै लागि बैंक वित्तिय संस्थासहित करिव ६ लाख सरकारी कर्मचारीलाई १० दिने पर्यटन काजको कार्यक्रम बजेटमार्फत ल्याइएको थियो । तर आधा वर्ष बित्दा समेत कार्यविधि नबन्दा त्यसको पनि लाभ लिन व्यवसायीले पाएनन् ।
सन २०१९ मा करिव १२ लाख पर्यटक हवाई उडानमार्फत नेपाल आएको थिए । त्यसवेला व्यवसायीहरुले २५ लाख पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार भइसकेको बताएका थिए । त्यसयता पर्यटकको आवागम वर्षमा साढे दुई लाख पनि पुग्न सकेको छैन । तर यता होटल र पर्यटकीय पूर्वाधारमा भने उल्लेख्य लगानी भएको छ । महामारी हट्छ र पर्यटकको आगमनसँगै फेरि होटल व्यवसाय गुल्जार हुन्छ भन्ने आशामा व्यवसायी छन् ।